काठमाडौं ।नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध भएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो । खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठकले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।
यस्तै अन्य विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।
विपक्षी दलहरूको समर्थन लेखा समिति सभापतिमा कांग्रेसलाई रहेकाले उनी निर्विरोध भएका हुन् ।
खड्का डोटीबाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् ।
पदभार ग्रहणको घोषणा पछि सञ्चारकर्मीसँग कुरा गर्दै सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति खड्काले जिम्मेवारीलाई जवाफदेही र पारदर्शी ढंगले अघि बढाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विगतका अनुभव र विज्ञताका आधारमा आर्थिक सुशासन र वित्तीय अनुशासन सुदृढ गर्ने लक्ष्य लिएको स्पष्ट पारेका छन् ।
साथै आर्थिक व्यवस्थापनको स्तरले नै देशको समग्र विकासको गति निर्धारण गर्ने उनले धारणा राखेका छन् ।