Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाईंदै, कुनै पनि स्थान नदिने निर्णय

विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाईंदै, कुनै पनि स्थान नदिने निर्णय

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । विश्वविद्यालय परिसरभित्र दलीय विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनका लागि कोठा, भवन वा जमिन नदिने निर्णय गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा गत चैत २० गते सबै विश्वविद्यालयका उपकुलपतिहरूले यस्तो निर्णयमा हस्ताक्षर गरेका हुन् । सरकारले विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने तयारीस्वरूप उक्त कदम अघि बढाएको जनाइएको छ ।

निर्णयअनुसार अब विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय स्थापनाका लागि कुनै पनि भौतिक संरचना उपलब्ध गराउने छैनन् । साथै परिसरभित्र राखिएका ब्यानर, झण्डा, भित्ते लेखन लगायतका सबै राजनीतिक संकेतहरू तत्काल हटाइनेछन् ।

त्यस्तै, विश्वविद्यालय ऐनमा दलीय विद्यार्थी संगठनसम्बन्धी व्यवस्था भए त्यसलाई खारेज गर्न आवश्यक प्रस्ताव तयार गरी विश्वविद्यालय अनुदान आयोगमार्फत शिक्षा मन्त्रालयमा पठाउने निर्णय पनि गरिएको छ । विश्वविद्यालयका नियमावली वा विनियमावलीमा त्यस्ता प्रावधान भएमा ६० दिनभित्र संशोधन गर्ने व्यवस्था मिलाइएको छ ।

हाल रहेका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को संरचनालाई कायम राख्दै नयाँ रूपमा ‘स्टुडेन्ट काउन्सिल’, ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता विद्यार्थी हितका संयन्त्र विकास गर्ने योजना अघि सारिएको छ ।

निर्णय कार्यान्वयनका क्रममा सुरक्षा चुनौती देखिएमा सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउने तथा आवश्यक परे शिक्षा मन्त्रालयमार्फत गृह मन्त्रालयसँग समन्वय गरी विश्वविद्यालय परिसरमा सुरक्षा व्यवस्थापन गर्न सकिने पनि उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार कार्यसूचीअनुसार ६० दिनभित्र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने र ९० दिनभित्र वैकल्पिक विद्यार्थी प्रतिनिधि संयन्त्र विकास गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077