काठमाडौं । १४ वर्ष अघि चेकको भरमा महावीर विल्डर्स प्रालिको नाममा थापाथलीमा रहेको २७ आना जग्गा खरिद गरि फरार भएका थप एक जना पक्राउ परेका छन् ।
साढे दुई/साढे दुई करोडको दुई वटा चेक दिएर १४ वर्ष अघि जग्गा लिएका महावीर विल्डर्सका चार जना सञ्चालकमध्ये तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैशाख १५ गते मंगलबार सुभासनम शाहलाई पक्राउ गरेको हो ।
नृपशमशेर जवरा वादी रहेको चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला अनुसार उनी पक्राउ परेका हुन् ।
बुढानिलकण्ठ–८, काठमाडौंका स्थायी बासिन्दा शाहलाई महाशाखाको टोलीले चाँगुनारायण नगरपालिका–५ खरिपाटी, भक्तपुरबाट पक्राउ गरेको हो ।
महावीरका चार जना सञ्चालकमध्ये यसअघि अमर केशर सिंह र नविन राउत पक्राउ परिसकेका छन् ।
सिंह गत चैत २८ गते चित्लाङबाट पक्राउ परेका थिए भने नविन राउत गत फागुन ७ गते पक्राउ परि पुर्पक्षका लागि सुन्धारास्थित सेन्टर जेल चलान भइसकेका छन् ।
फरार रहेका अमरशमशेर राणा भने नेपालकै पहिलो गभर्नर हिमालय शमशेर राणाका छोरा तथा हिमालयन बैंकका सीइओ अशोक राणाका भाइ हुन् । अमरशमशेरलाई सीइओ राणाले नै जोगाउँदै आएको पीडित पक्षको दावी छ ।
अहिलेसम्म राणा पक्राउ नपर्नुले प्रहरीमाथि नै आशंका उब्जिएको छ ।
सिंह भने पूर्वराजा ज्ञानेन्द्र शाहले मानार्थ जनरलको उपाधि दिएका दिवंगत भरतकेशर सिंहका पुत्र हुन्–अमर केशर सिंह ।
महावीर विल्डर्स प्रालि नामको कम्पनी खोलेर उनीहरू ४ जनाले थापाथलीमा रहेको नृपशमशेर जबराको २७ आना ६ करोडमा खरिद गरेका थिए । २०६८ असारमा जग्गा खरिद गर्दा उनीहरुले दुईवटा चेक दिएको र सो चेक नसाटिएपछि जग्गाधनीले अदालतमा चेक अनादरको मुद्दा दायर गरेका थिए ।
काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ९ मा उनीहरुविरुद्ध बिगो भराउने फैसला गरेको थियो । तर, बिगो रकम दाखिला नगरेपछि बादीको निवेदनको आधारमा २०८२ माघ २३ मा अदालतले पुनः उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।