काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली नेपाललाई ओमानले हराएको छ ।
बुधबार वर्षाले प्रभावित भएको खेलमा नेपाल ओमानसँग डीएल मेथडमा १ सय २ रनले पराजित भएको हो।
जितको लागि ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६।५ ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बानउँदा पानी पर्न सुरु गर्यो। यसपछि खेल हुन नसकेपछि ओमानले डिएल मेथडमा जित हात पार्यो।
नेपालले खराब सुरुवात गर्यो। दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल १ रनमा सकिब अहमदद्वारा एलबिडब्लु आउट भए। १ रन जोड्दा ओपनर गुमाएको नेपालले ३३ रन बनाउँदा अर्का ओपनर आशिफ शेखलाई पनि गुमायो।
२५ रन जोडेर आशिफ पनि सकिब कै बलमा आउट भए। पहिलो पावर प्लेमा नेपालले २ विकेटको नोक्सानीमा ३६ रन बनायो।
पानी पर्ने संभावन उच्च रहँदा नेपालले सम्हालिएर खेल्नुपर्ने थियो। तर त्यसो भएन। कप्तान रोहित १० रन बनाएर नदिम खानको बलमा बोल्ड आउट भए। १६ औं ओभरमा रोहित आउट हुँदा नेपालले ५४ रन बनाएको थियो। लगत्तै बसिर अहमद १ रनमा पबिलियन फर्कदा नेपाली इनिङ्स संकटमा पर्यो।
नेपालले कुनै पनि समय ठूलो साझेदारी बन्न सकेन। भीम सार्की २८ रनमा र आरिफ शेख १४ रनमा आउट भए। १ सय ६ रन जोड्दा नेपालले ६ विकेट गुमायो। यो सँगै नेपालको हार लगभग निश्चित भएको थियो।
यो खेलमा पनि दिपेन्द्र सिंह ऐरीको ब्याटबाट रन बन्यो। उनी जारी सिरिजमा लगातार दोस्रो पटक अर्धशतक बनाउन सफल रहे। ६२ बल खेल्दै ७ चौका र १ छक्का सहित ६० रमको पारी खेलेर मोहम्मद इमरानको बलमा वासिम अलिद्वारा क्याच आउट भए।
लिग टुका पछिल्लो ४ खेलमा उनको यो तेस्रो अर्धशतक हो भने ओडिआईको सातौं अर्धशतक हो। उनी आउट हुँदा नेपालले १ सय ५३ रन बनाएको थियो।
क्रिजमा गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहँदा पानी पर्न सुरु भयो। बलिङमा ओमानका नदिम खानले सर्वाधिक ३ विकेट र सकिल अहमदले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको छ। ओमानले नेपाली बलरहरूलाई दबाब दिंदै राम्रो सुरूवात गरे।
ओपनरद्वय जितेन्द्र सिंह र आशिष ओडेडाराले पहिलो पावर प्लेमा ५९ रन बनाए। १० ओभर सम्म फास्ट बलरहरू करण केसी, सोमपाल कामी र गुल्सन झाले विकेट झार्न सकेनन्।
१४ औं ओभरको अन्तिम बलमा बसिर अहमदको बलमा छक्का प्रहार गर्दै जतिन्द्रले ३८ बलमा ७ चौका र ३ छक्का सहित अर्धशतक बनाए। यो साझेदारीलाई सन्दीपले तोडे। १५ औं ओभरको दोस्रो बलमा २३ रन बनाएका आशिष ओडेडारा आउट भए। पहिलो विकेट गुमाउँदा ओमानले ८० रन बनाएको थियो।
यसपछि १६ औं ओभरको पाँचौं बलमा दीपेन्द्र सिंह ऐरीले १ रन बनाएका नउिम खानलाई बोल्ड आउट गरे। २० ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ओमानले १०० रन पुरा गर्यो।
दीपेन्द्रले तेस्रो विकेट लिए। उनले ३० रन बनाएका हमाद मिर्जालाई भीम सार्कीद्वारा क्याच आउट गराए। तेस्रो विकेटको नोक्सानीमा ओमानले १ सय ६४ रन बनाएको थियो।
नेपाली बलरहरूलाई निरिह बानउँदै जतिन्द्रले शतक बनाए। उनले ७१ बल खेल्दै १३ चौका र ३ छक्का सहित शतक बनाए। जतिन्द्रको नेपाल विरूद्ध यो दोस्रो शतक हो। ओडिआईमा भने उनको यो पाँचौं शतक हो
जतिन्द्रको महत्वपूर्ण विकेट सोमपाल कामीले लिए। ९६ बल खेल्दै १५ चौका र ५ छक्का सहित १ सय ३० रन जोडेर जतिन्द्र सोमपालको बलमा बसिरद्वारा क्याच आउट भए। उनको करियरको यो सर्वाधिक रन हो।
यसअघि उनले १ सय १८ पिएनजी विरूद्ध बनाएका थिए। चौथो विकेटको नोक्सानीमा ओमानले ३४ ओभर ६ बलमा १ सय ९२ रन बनाएको थियो।
पाँचौं विकेट सन्दीपले लिए। ३५ रन बनाएका आर्यान बिष्ट ३५ रनमा आउट भए। यसपछि २३ रन बनाएका विनायक शुक्लालाई सपमपाल कामीले पबिलियनको बाटो देखाइदिए।
६ विकेटको नोक्सानीमा ओमानले २ सय ८७ रन बनाएको थियो। सोमपालले अन्तिम ओभरको पहिलो बलमा ४३ रन बनाएका जितेन रामानन्दी बोल्ड आउट भए। लगतै अर्को बलमा सोमपालले सकिब अहमदलाई डक आउट गरे।
बलिङमा सोमपालले ९ ओभरमा ५९ रन दिएर सर्वाधिक ४ विकेट लिए। सन्दीपले किफायती बलिङ गरे। उनले १० ओभरमा मात्र २४ रन दिएर २ विकेट लिए। दीपेन्द्रले पनि २ विकेट झारे।
जारी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको हो। ओमानले भने पहिलो जित दर्ता गरेको हो। नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो। ओमान भने पहिलो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो।
अब शुक्रबार नेपाल र युएईबीचको खेल हुनेछ।