काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आज ४ बजे बिदाइ गर्ने भएको छ ।
१८ वैशाख (शुक्रबार मध्यराति १२ बजे) मा सशस्त्र प्रहरी महानिरीक्षकको चार बर्से पदावधि पूरा गरी अनिवार्य अवकाशमा जान लागेका अर्यालको बिदाइ मन्त्रालयले आज ४ बजे गर्न लागेको हो ।
यस्तै, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले पनि अर्यालको बिदाइ शुक्रबार गर्ने भएको छ ।
बिदाइका लागि शुक्रबार दिउँसो ३ बजे सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरिएको छ।
अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीका आईजीको पदावधि चार वर्ष हुने कानुनी व्यवस्था छ ।
२०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
अर्याल आउदो शुक्रबार नै अवकाशमा जाने भएपछि गत सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरिसकेको छ ।
अर्यालको बिदाइ नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले नै गर्नेछन् ।
त्यसपछि पौडेललाई महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिने छ ।