एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले इस्लामिक गणतन्त्रसँगको युद्धमा संयुक्त राज्य अमेरिका पराजित भएको दाबी गरेका छन् ।
बिहीबार ‘पर्सियन खाडी दिवस’को अवसरमा जारी लिखित सन्देशमा इरानका सर्वोच्च नेताले अमेरिकाको सैन्य तैनाथी र आक्रमणपछि पनि इरानले आफ्नो रणनीतिक क्षमता कायम राख्न सफल भएको उल्लेख गरे ।
उनले लामो नाकाबन्दी तोड्न सफल हुनु इरानको जीत भएको दाबी गरेका छन्। 'यस क्षेत्रमा सबैभन्दा ठूलो सैन्य तैनाथी र आक्रमणपछि संयुक्त राज्य अमेरिकाले लज्जास्पद हार बेहोरेको छ,' उनले सन्देशमा भनेका छन्।
साथै उनले पर्सियन खाडी र स्ट्रेट अफ हर्मुज क्षेत्रमा नयाँ शक्ति सन्तुलन सुरु भएको बताएका छन्।
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीलाई चुनौती दिँदै इरानी नेतृत्वले आफ्नो प्रभाव कायम राखेको खामेनीको दाबी छ।
उनले अमेरिकाले आफ्ना क्षेत्रीय सहयोगीलाई सुरक्षा दिने मात्र होइन, आफ्नै सैन्य अड्डाको सुरक्षा सुनिश्चित गर्नसमेत असफल भएको आरोप लगाए।
गत फेब्रुअरी २८ मा इजरायलसँग मिलेर अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तत्कालीन सर्वोच्च नेताको मृत्यु भएको र त्यसपछि मोजतबा खामेनी सत्तामा पुगेका हुन्। मार्च ९ मा सर्वोच्च नेता नियुक्त भएयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।