काठमाडौं । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ।
माइतीघरमा आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाइमा धर्ना तथा विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनमा विभिन्न राजनीतिक दलका सांसद, नेताहरू र अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।
सुनकोशी गाउँपालिका–३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको गत वैशाख ७ गते हिरासतमा मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको हो।
प्रदर्शनकारीहरूले ‘दलित समुदायमाथि भइरहेको छुवाछुत, विभेद र दमन बन्द गर’, ‘श्रीकृष्ण विकलाई न्याय दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पीडित परिवारका अनुसार खोटाङकी एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेपछि केटीपक्षले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले विकलाई पक्राउ गरेको थियो।
परिवारले उनलाई ‘झुटा आरोपमा फसाइएको’ दाबी गर्दै हिरासतभित्र भएको मृत्यु अस्वीकार्य रहेको जनाएको छ।अधिकारकर्मीहरूले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।