काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सर्वसाधारणलाई त्रसित बनाउँदै अनलाइन ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुनसरीको धरान बाट चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, धरान–९ का २१ वर्षीय सौरव भुजेल, धरान–१३ का २८ वर्षीय सजल राई तथा इनरुवा–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।
अनुसन्धानका क्रममा उक्त गिरोहले मोबाइल एप ‘ट्रू कलर’ मा आफ्नो नाम ‘साइबर ब्यूरो’ देखिने गरी सेट गरी सर्वसाधारणलाई फोन गर्ने गरेको खुलेको छ। फोनमार्फत उनीहरूले डर, त्रास र विभिन्न प्रलोभन देखाउँदै पीडितहरूलाई विद्युतीय माध्यमबाट रकम पठाउन बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ।
साइबर ब्यूरो बाट खटिएको टोलीले इलाका प्रहरी कार्यालय धरान सँगको समन्वयमा वैशाख १९ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी ‘विद्युतीय माध्यमबाट हुने ठगी’ कसुरअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पीडितहरूको उजुरीका आधारमा गरिएको प्राविधिक विश्लेषणबाट उनीहरूको संलग्नता पुष्टि भएको हो।