काठमाडौं । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटना बढ्दै गएपछि नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले जारी गरेको विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ शैलीको साइबर ठगी गरिरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार ती गिरोहहरूले ‘कनेक्ट आईपीएस’ जस्ता डिजिटल भुक्तानी सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट शंकास्पद सन्देश पठाउने गरेका छन्।
उक्त सन्देशमा “तपाईंको खाता लक गरिएको छ” भन्दै पुनः पहुँचका लागि ‘एक्सेस रिजन’ गर्न आग्रह गरिन्छ र त्यसका लागि विभिन्न लिङ्कहरू पठाइन्छ।
प्रयोगकर्ताले ती लिङ्कमा क्लिक गरेपछि व्यक्तिगत तथा बैंकिङ विवरण चोरी गरी खातामा अनधिकृत पहुँच पुर्याएर रकम हिनामिना गर्ने गरिएको साइबर ब्यूरोले जनाएको छ।
ब्यूरोले यस्तो ठगीबाट जोगिन शंकास्पद लिङ्कमा क्लिक नगर्न, बैंकिङ कारोबारका लागि सधैं आधिकारिक वेबसाइट वा एप मात्र प्रयोग गर्न, गोप्य बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न र कुनै पनि संदिग्ध गतिविधि देखिएमा तत्काल प्रहरी वा सम्बन्धित बैंकलाई जानकारी गराउन आग्रह गरेको छ।