काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले जेनजी आन्दोलनका क्रममा भएको घटनासम्बन्धी मुद्दामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाही प्रक्रिया अघि नबढाइएको विषयमा सरकारसँग प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले सरकार किन मुद्दा दायर गर्न पछि हटिरहेको छ ? भन्दै स्पष्ट जवाफ माग गरे।
उनले अदालतमा मुद्दा दायर हुन नसक्नुको कारण प्रमाण अभाव हो वा राजनीतिक प्राथमिकताको कमी हो ? भन्दै प्रश्न उठाए।
उनले भने–‘जेनजी आन्दोलनका अभियुक्त तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन सरकारलाई केले रोक्यो ? प्रमाण पुगेन कि प्राथमिकता पुगेन ?’
सांसद प्रसाईंले नेपालमा प्रत्येक आन्दोलनपछि शहीद परिवारले न्याय नपाउने अवस्था दोहोरिँदै गएको टिप्पणी गरे।
उनका अनुसार विगतका आन्दोलनमा जस्तै अहिले पनि दोषीलाई उन्मुक्ति दिने प्रवृत्ति कायम रहे जनतामा निराशा बढ्नेछ। उनले भने–‘हरेक आन्दोलनका शहीदमाथि अन्याय हुँदै आएको छ । अहिले पनि उस्तै अवस्था दोहोरियो भने ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भन्ने उखानजस्तै हुन्छ।’
उनले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।