एजेन्सी । ब्रिक्स राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत पुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भारत–रुस सम्बन्धलाई ‘अटुट र रणनीतिक साझेदारी’को उदाहरणका रूपमा व्याख्या गरेका छन् ।
उनले दुई देशबीच दूरी बढ्ने कल्पनासमेत असम्भव रहेको बताएका छन् । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा विदेशमन्त्री लाभरोभले भारत र रुसबीचको सम्बन्धलाई सामान्य कूटनीतिक सम्बन्धभन्दा माथि रहेको उल्लेख गरे ।
'यो सम्बन्धलाई एउटा शब्द वा एउटा वाक्यमा सीमित गर्न सकिँदैन । यति गहिरो मित्रताको विग्रह कल्पना गर्नु नै कठिन छ,' उनले भने ।
लाभरोभले दशकौँदेखि चर्चित ‘हिन्दी–रूसी भाई–भाई’ नारालाई केवल राजनीतिक नाराका रूपमा नभई दुवै देशको सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा चित्रण गरे । उनले रुसमा भारतीय चलचित्रप्रतिको आकर्षण अझै बलियो रहेको उल्लेख गर्दै अभिनेता राज कपूरका फिल्मदेखि आधुनिक भारतीय वेब सिरिजसम्म रुसी दर्शकमाझ लोकप्रिय रहेको बताए ।
उनले ऊर्जा, आणविक ऊर्जा तथा रक्षा उत्पादनका क्षेत्रमा भारत–रुस सहकार्य निरन्तर विस्तार भइरहेको जानकारी दिए ।