एजेन्सी। मे १३ देखि १५ सम्म चीन भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सकेर शुक्रबार अमेरिका फर्किएका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच देखिएका विभिन्न मतभेद समाधान गर्ने उद्देश्यसहित भएको वार्तापछि उनी बेइजिङबाट अमेरिका फर्किएका हुन्।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो एयर फोर्स वन बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । प्रस्थानअघि आयोजित औपचारिक कार्यक्रममा ट्रम्पले विमान चढ्ने क्रममा हात उठाएर अभिवादन गरेका थिए । निलो पोसाकमा रहेका सहभागीहरूले अमेरिकी र चिनियाँ झण्डा हल्लाउँदै स्वागत र बिदाइ गरेका थिए ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई ‘अत्यन्त सफल भएको बताएका छन्।
ट्रम्पको तीन दिने चीन भ्रमणका क्रममा राजकीय भोज, ऐतिहासिक स्थलहरूको भ्रमण, द्विपक्षीय चियापान तथा कार्यकारी भोजन कार्यक्रम आयोजना गरिएको थियो ।
ट्रम्प र सी जिनपिङबीच दुई दिनसम्म भएको वार्ताबाट हालसम्म सीमित सहमति मात्र सार्वजनिक भएको छ । यद्यपि ट्रम्प र सी जिनफिङबीच भएको वार्तामा होर्मुज जलडमरूमध्य खोल्नु विश्व अर्थतन्त्रका लागि आवश्यक रहेको विषयमा सहमति भएको थियो। दुवै नेताले क्षेत्रमा तनाव कम गर्दै ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्काउनुपर्ने संकेत दिएका छन्। सीसँगको भेटका क्रममा ट्रम्पले यस विषयमा दुवै देशको सोच धेरै हदसम्म मिल्दोजुल्दो रहेको बताएका थिए।
अधिकारीहरूले आगामी दिनमा थप सम्झौताहरू हुन सक्ने संकेत दिएका छन् ।
विश्लेषकहरूका अनुसार अमेरिका र चीनबीचको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहेकाले अहिले भएका सहमतिहरू भविष्यमा फेरि प्रभावित हुन सक्ने सम्भावना कायम छ । बहुअर्ब डलरका सम्झौता कार्यान्वयन हुन वर्षौं लाग्न सक्ने र त्यस अवधिमा तनाव फेरि बढ्न सक्ने आकलन गरिएको छ ।
शिखर वार्ताअघि नै विश्लेषकहरूले ठूलो उपलब्धिको अपेक्षा कम गरेका थिए । विशेषगरी प्रविधि निर्यात नियन्त्रण र ताइवानको विषयले दुई देशबीचको सम्बन्ध अझै जटिल बनाइरहेको बताइएको छ ।
ट्रम्पले बिहीबार सी जिनपिङले २०० वटा बोइङ विमान खरिद गर्न सहमति जनाएको बताएका थिए । त्यस्तै अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चीनले अमेरिकी कृषि उत्पादन खरिद गर्न अर्बौँ डलर बराबरको सम्झौता गर्ने अपेक्षा रहेको जानकारी दिएका छन् । सन् २०१७ पछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण थियो ।