Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इबोला भाइरसबाट कंगोमा ८० जनाको मृत्यु, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

इबोला भाइरसबाट कंगोमा ८० जनाको मृत्यु, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

आइतवार , जेठ ३, २०८३

काठमाडौं । कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणबाट ८० जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

इटुरीमा २४६ वटा शंकास्पद केसहरू पनि फेला परेका छन्।  यद्यपि, डब्लुएचओले यो अवस्था अझै महामारीको श्रेणीमा भने नपर्ने जनाएको छ।

कंगोका स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाका अनुसार, यस पटकको पहिलो सङ्क्रमण एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। 

परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्।

यो रोग हाल इटुरी प्रान्तका बुनिया, वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिसकेको छ। कंगोमा इबोला सन् १९७६ मा पहिलो पटक देखिएको थियो र यो देशमा देखिएको यसको १७औँ प्रकोप हो।

विशेषज्ञहरूका अनुसार, यस पटक इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेन फेला परेको छ, जबकि यसअघि कंगोमा धेरैजसो केसहरू ‘जायरे’ स्ट्रेनका हुन्थे। 

हाल उपलब्ध धेरैजसो इबोलाका खोप र उपचार जायरे स्ट्रेनलाई ध्यानमा राखेर बनाइएकाले यस नयाँ स्ट्रेनले अधिकारीहरूको चिन्ता बढाएको छ।

इटुरी प्रान्तको राजधानी बुनियाका बासिन्दाले त्यहाँ त्रासको माहोल रहेको बताएका छन्। स्थानीय निवासी जीन मार्क असिम्वेका अनुसार पछिल्लो एक हप्तादेखि लगातार मृत्यु भइरहेको छ र कहिलेकाहीँ एकै दिन २–३ वा सोभन्दा बढी मानिसको अन्तिम संस्कार गर्नुपरेको छ।

कंगोसँग जोडिएको युगान्डामा इबोलाको एउटा केस फेला परेको छ। सङ्क्रमित बिरामीको मे १४ मा कम्पालाको एक अस्पतालमा मृत्यु भएको थियो। पछि उनको शवलाई कंगो नै फिर्ता पठाइएको थियो। युगान्डाले हालसम्म कुनै स्थानीय सङ्क्रमण फैलिएको पुष्टि भने गरेको छैन।

अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा रोग फैलिने उच्च खतरा रहेको जनाएको छ।

विश्वभर इबोला भाइरसबाट सङ्क्रमित बिरामीहरूमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्मको मृत्यु हुने गरेको छ। यो भाइरस पहिलो पटक सन् १९७६ मा अफ्रिकामा फेला परेको थियो। त्यस समय सुडान र तत्कालीन जायरे (हालको प्रजातान्त्रिक गणतन्त्र कंगो) मा यसका केसहरू देखिएका थिए।

कंगोमा यो भाइरस फेला परेको क्षेत्र नजिकै बग्ने ‘इबोला नदी’ को नामबाट यसको नामकरण गरिएको हो। यो ज्यानमारा रोग सङ्क्रमित व्यक्तिको रगत, वान्ता र शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्छ।

इबोलाबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये कंगो पर्छ। सन् २०१४ देखि २०१६ को बीचमा पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप थियो, जसमा ११ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077