काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा ले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम काठमाडौंका कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार गत वैशाख २१ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार कोइरालालाई तरुण दलको नेतृत्व दिइएको हो।
म्याद समाप्त भई कार्यसमिति स्वतः विघटन भएपछि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त भएका कोइरालालाई तोकिएको समयसीमाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ।
यसका लागि पार्टीले ९ बुँदे स्पष्ट कार्यादेश र कार्यविवरण समेत उपलब्ध गराएको जनाएको छ।