काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलिया ‘उर्मिला’ ले मध्यपूर्व तथा पश्चिम एसियामा जारी युद्धका कारण विश्वव्यापी रूपमा बढेको मूल्यवृद्धिले नेपालको निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद उर्मिलाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको चर्को वृद्धि तथा निर्माण सामग्रीको अभावले सडक, पुल, सुरुङ, जलविद्युत्, विमानस्थल, खानेपानी, विद्यालय र अस्पतालजस्ता पूर्वाधार निर्माण प्रभावित भएको बताएकी हुन् ।
उनले अन्तर्राष्ट्रिय युद्धको असरले सिमेन्ट, डण्डी, बिटुमिन, डिजेल, मेसिनरीलगायत निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको उल्लेख गर्दै निर्माण व्यवसायीहरू अनुमानित लागतभन्दा धेरै बढी खर्चको दबाबमा परेको बताइन्।
'निर्माण उद्योग केवल एउटा व्यवसाय होइन, यो राष्ट्रको आर्थिक मेरुदण्ड हो,' उनले भनिन्, 'लाखौं श्रमिकको रोजगारी र हजारौं साना–मझौला व्यवसायीको जीवनयापन यसैसँग जोडिएको छ।'
सांसद उर्मिलाले निर्माण कम्पनीहरू बैंकको उच्च ब्याजदर, भुक्तानी ढिलाइ, मूल्यवृद्धि र सामग्री अभावको दोहोरो–तेहोरो मारमा परेको उल्लेख गर्दै धेरै आयोजना अधुरै रोकिएको तथा कतिपय व्यवसायी कालोसूचीमा पर्ने अवस्थामा पुगेको चेतावनी दिइन्।
उनले सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै ६ बुँदे प्रस्ताव अघि सारिन् । जसमा मूल्य समायोजन व्यवस्था प्रभावकारी कार्यान्वयन, निर्माण सामग्रीको मूल्य नियन्त्रण र बजार अनुगमन, रोकिएको भुक्तानी तत्काल निकासा, बैंक ब्याजदरमा सहुलियत तथा पुनर्कर्जा सुविधा, राष्ट्रिय गौरवका आयोजनाका लागि विशेष राहत प्याकेज र साना निर्माण व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषय समेटिएका छन्।
सांसद उर्मिलाले निर्माण उद्योग कमजोर भए विकासको गति रोकिने र त्यसको प्रत्यक्ष असर राष्ट्रिय अर्थतन्त्र तथा जनताको भविष्यमा पर्ने चेतावनी दिँदै सरकार, निजी क्षेत्र र नीति निर्माण तहबीच सहकार्य, संवेदनशीलता र दूरदर्शिता आवश्यक रहेको बताइन्।
उनले अन्तर्राष्ट्रिय युद्धलाई बहाना बनाएर विकास निर्माणका काम रोक्न नहुने उल्लेख गर्दै संकटको समयमा राष्ट्रले आफ्ना उत्पादनशील तथा निर्माणशील क्षेत्रलाई जोगाउन सक्नुपर्नेमा जोड दिइन् ।