काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्को नयाँ भवन फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको कुर्सी फिल्म हलको जस्ता र टेबल कक्षाकोठाको जस्तो भएको टिप्पणी गरे ।
उनले भने–‘त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ । टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’
धेरै लगानी र समय लगाएर बनाइएको भवनको सही ढंगले व्यवस्थापन गरिनुपर्नेमा उनले जोड दिए ।
उनले भने–‘धेरै ठूलो लगानी र समय लगाएर बनाइएको भवन, दीर्घकालीन महत्त्वको भवनलाई सही ढंगले व्यवस्थापन सञ्चलान गर्नु वाञ्छनीय हुन्छ । तर, हतार–हतारमा गर्ने कार्यले क्षति हुन्छ कि ?’
त्यसलाई उनले प्रतिनिधिसभाको हलजस्तो बनाउन पनि आग्रह गरे ।