काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको वर्तमान राजनीतिक अवस्था चिन्ताजनक बन्दै गएको बताएका छन् ।
संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसका कार्यकर्ता पुनः जागरुक र एकीकृत हुनुपर्नेमा उनले जोड दिएका छन् ।
जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता सिटौलाले देशको राजनीतिक प्रणाली सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरे ।
उनले न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद् लगायत राज्यका प्रमुख अंगहरूको कार्यसम्पादन सन्तोषजनक नरहेको उल्लेख गरे ।
“नेपालको राजनीति ठिक ढंगले अगाडि बढिरहेको छैन । त्यसैले संविधान र लोकतन्त्र जोगाउन कांग्रेस कार्यकर्ताहरूले पुनः एकीकृत भएर नयाँ मार्गचित्र निर्माण गर्नुपर्ने आवश्यकता छ,” सिटौलाले भने ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा तराई–मधेस क्षेत्रको ऐतिहासिक योगदान स्मरण गर्दै वि.सं. २००७ सालको क्रान्तिमा विराटनगर, जनकपुर र वीरगन्जले नेतृत्वदायी भूमिका खेलेको बताए ।
तराईकै आन्दोलनको बलमा नेपालमा प्रजातन्त्र स्थापना भएको र जनताले ‘रैती’बाट ‘नागरिक’को पहिचान प्राप्त गरेको उनको भनाइ थियो ।
“२००७ सालको क्रान्ति नेपालको आधुनिक युगको प्रादुर्भाव हो,” उनले भने, “त्यस संघर्षले नेपाली जनतालाई अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक चेतनाको आधार प्रदान गरेको थियो ।”