काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिएर स्वदेश फिर्ता भएका छन् ।
रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका हुन् ।
उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेका थिए ।
रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गरेका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्टीका शीर्षनेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।