Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यान्सर उपचारमा नयाँ आशा : ‘एमिभान्टामाब’ इन्जेक्सनले ट्युमर पूर्ण रूपमा हटाएको दाबी

क्यान्सर उपचारमा नयाँ आशा : ‘एमिभान्टामाब’ इन्जेक्सनले ट्युमर पूर्ण रूपमा हटाएको दाबी

मंगलवार , जेठ १९, २०८३

एजेन्सी । क्यान्सर उपचारको क्षेत्रमा चिकित्सक तथा अनुसन्धानकर्ताहरूले महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेका छन् ।

परम्परागत उपचारबाट निको हुन नसकेका बिरामीहरूमा समेत ट्युमर पूर्ण रूपमा हराएको देखिएको एक नयाँ इन्जेक्सनले चिकित्सा क्षेत्रमा नयाँ आशा जगाएको छ ।

अमेरिकी औषधि कम्पनी जोनसन एन्ड जोनसनले विकास गरेको ‘एमिभान्टामाब’ नामक उपचारात्मक इन्जेक्सनको ११ देशमा गरिएको क्लिनिकल परीक्षणपछि उत्साहजनक नतिजा सार्वजनिक गरिएको हो। यो ‘ट्रिपल–एक्सन’ उपचार विधिले क्यान्सर कोषिकामाथि एकैपटक तीन तहमा आक्रमण गर्ने दाबी गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार परम्परागत किमोथेरापी र इम्युनोथेरापीबाट लाभ नपाएका तथा रोग पुनः बल्झिएका बिरामीहरूमा समेत यो उपचारले उल्लेखनीय परिणाम दिएको छ। अध्ययनमा १०२ जना बिरामी सहभागी थिए, जसमा करिब एक तिहाइभन्दा बढीमा ट्युमरको आकार उल्लेखनीय रूपमा घटेको पाइएको छ।

सबैभन्दा महत्वपूर्ण उपलब्धि १५ जना बिरामीमा देखिएको हो, जसमा क्यान्सरका ट्युमर पूर्ण रूपमा हराएको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। यी बिरामीहरू उपचारका सीमित विकल्प मात्र बाँकी रहेका अवस्थामा थिए।

लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका प्राध्यापक केभिन ह्यारिङ्टनले यस नतिजालाई “अभूतपूर्व” भन्दै आगामी अध्ययन सफल भएमा यसले हजारौँ बिरामीको जीवन बचाउन सक्ने सम्भावना रहेको बताएका छन्।

अनुसन्धान विशेषगरी टाउको तथा घाँटीको क्यान्सरमा केन्द्रित थियो, जुन विश्वमा छैटौँ सबैभन्दा सामान्य क्यान्सर मानिन्छ। विशेषगरी एचपीभी–नेगेटिभ प्रकारका बिरामीमा उपचार जटिल मानिन्छ, जसले यो उपलब्धिलाई अझ महत्वपूर्ण बनाएको अनुसन्धानकर्ताहरूको भनाइ छ। द गार्जियनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077