Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति कार्यालयबाट चोरी गर्ने पाँच जना सार्वजनिक, एकको साथबाट लागुऔषध पनि बरामद

राष्ट्रपति कार्यालयबाट चोरी गर्ने पाँच जना सार्वजनिक, एकको साथबाट लागुऔषध पनि बरामद

बुधवार , जेठ २०, २०८३

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरीएका दुई थान हात्तीका दाह्रासहित पक्राउ परेका ५  जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  

सार्वजनिक हुनेमा काठमाडौं तार्केश्वर नगरपालिका-९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे गाउँपालिका-४ लाप्राक घर भई तार्केश्वर-१० मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका-१७ घर भएका २७ वर्षीय आयुष महर्जन रहेका छन् ।

यसैगरी बैतडीको डिलासैनी गाउँपालिका-३ घर भई टोखा नगरपालिका-२ सपनतिर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखाको अजिरकोट गाउँपालिका-४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन् ।

राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचनाका आधारमा मंगलबार राति नै अपरेसन चलाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सोधपुछपछि राजिव, आयुष र टेकले हात्तीको दाह्रा टुक्रा बनाएर राजिवको घरको पूर्वतर्फको खाली जग्गामा गाडेर राखेको बताएका थिए ।

त्यसपछि प्रहरीले उक्त ठाउबाट दुई टुक्रा हात्तीको दाह्रा बरामद गरेको बताएको छ । खोजबिनका क्रममा राजिवको घरबाट प्रहरीले लागु औषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको छ ।

यसैगरी पक्राउ परेकामध्ये सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखेको थप २ वटा हात्तीको दाह्रा बरामद भएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा २४ सै घण्टा सेनाको सुरक्षामा रहने राष्ट्रपति कार्यालय पनि प्रदर्शनकारीको निशानामा परेको थियो । 

त्यतिक्रममा प्रदर्शनकारीले राष्ट्रपति निवासमा आगजनी गर्नुका साथै राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका सामग्राीहरु समेत जलाउने र तोडफोड गर्ने काम भएका थिए । यसैको मौका छोपेर केही प्रदर्शनकारीहरुले राष्ट्रपति भवनका भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी गरेका थिए ।

करिब ९ महिनापछि उक्त चोरी भएका हात्तीका दाह्रासहित ५ जनालाई उपत्यका अपराध अनुसन्धानको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रबाट पक्राउ गरेको हो । 

उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077