काठमाडौं । चार पटकको विश्वविजेता जर्मनी फिफा विश्वकपबाट बाहिरिएको छ । रोमाञ्चक प्रि(क्वार्टरफाइनलमा पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जर्मनीको उपाधि यात्रा समाप्त भएको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा दुवै टोलीका दुई–दुई खेलाडी गोल गर्न असफल रहे। जर्मनीका काई हार्भाट्ज र निक वोल्टेमाडेले अवसर खेर फाले भने पाराग्वेका फाबियन बालबुएना र एन्टोनियो सानाब्रियाले पनि पेनाल्टीमा चुके।
प्रारम्भिक पाँच–पाँच प्रहारपछि पनि स्कोर ३–३ को बराबरी रहेकाले खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा जर्मनीका जोनाथन ताहको प्रहार असफल भएपछि पाराग्वेका जोस कानेलेले निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।
यस जितसँगै पाराग्वेले विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्त्य भएको छ ।