एजेन्सी । उत्तर कोरियाले आफ्नो आणविक क्षमतालाई गुणात्मक र संख्यात्मक दुवै रूपमा थप सुदृढ बनाउने घोषणा गर्दै दक्षिण कोरियासँग सम्बन्धित गतिविधिमाथिको सैन्य निगरानीसमेत विस्तार गर्ने निर्णय गरेको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार सत्तारुढ दलको केन्द्रीय सैन्य आयोगको हालै सम्पन्न बैठकमा देशको आणविक क्षमता विस्तार र दक्षिण कोरियासम्बन्धी गुप्तचर गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
उत्तर कोरियाले आफ्नो सुरक्षा रणनीतिअन्तर्गत आणविक कार्यक्रमलाई अझ मजबुत बनाउने संकेत दिएसँगै कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती थप चुलिने विश्लेषण गरिएको छ।
प्योङयाङको आणविक कार्यक्रमका कारण उसमाथि लामो समयदेखि संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाउँदै आएको छ।
उत्तर र दक्षिण कोरियाबीच सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सन्धिबिनै युद्धविराममा टुंगिएको थियो। त्यसैले दुवै देश कानुनी रूपमा अझै पनि युद्धकै अवस्थामा रहेका मानिन्छन्।
यसैबीच, कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ अनुसन्धानकर्ताले उत्तर कोरियाको पछिल्लो निर्णयले प्योङयाङले दक्षिण कोरियालाई पहिलेभन्दा अझ स्पष्ट रूपमा ‘शत्रु राष्ट्र’ का रूपमा हेर्न थालेको संकेत दिएको बताएका छन्।