Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुस–उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य गठबन्धन, युक्रेन युद्धले झन् नजिक्यायो सम्बन्ध

रुस–उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य गठबन्धन, युक्रेन युद्धले झन् नजिक्यायो सम्बन्ध

सोमवार , बैशाख १४, २०८३

एजेन्सी । रुस र उत्तर कोरियाबीच दीर्घकालीन सैन्य सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ। रुसको रक्षा मन्त्रालयले आइतबार यसबारे जानकारी दिँदै दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको संकेत दिएको हो ।

प्योङयाङले युक्रेनविरुद्धको युद्धमा मस्कोलाई साथ दिँदै हजारौँ सैनिक, क्षेप्यास्त्र तथा अन्य युद्ध सामग्री उपलब्ध गराएको बताइएको छ। यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, आधुनिक सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको विश्लेषण गरिएको छ।

दुई देशले सन् २०२४ मा हस्ताक्षर गरेको सैन्य सन्धिले सम्बन्धलाई झन् औपचारिक बनाएको छ। उक्त सन्धिअनुसार कुनै एक देशमाथि आक्रमण भएमा अर्कोले ‘ढिलाइ बिना’ सैन्य सहायता उपलब्ध गराउनुपर्ने प्रावधान छ।

रुसका रक्षामन्त्री आन्द्रे बेलौसोभले उत्तर कोरियासँगको सहकार्यलाई निरन्तर र दीर्घकालीन बनाउने सहमति भएको बताएका छन्। उनका अनुसार सन् २०२७ देखि २०३१ सम्मका लागि संयुक्त सैन्य सहकार्यको विस्तृत योजना यसै वर्ष हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

यसैबीच, प्योङयाङमा युक्रेन युद्धमा मारिएका सैनिकहरूको सम्मानमा आयोजित स्मारक उद्घाटन कार्यक्रममा उच्चस्तरीय भेटघाटहरू भएका छन्। बेलौसोभले उत्तर कोरियाली नेता किम जोङ उन तथा रक्षामन्त्री नो क्वाङ चोलसँग भेटवार्ता गरेका थिए।

त्यस्तै, रुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले किमसँग भेट गर्दै रुसको कुस्र्क क्षेत्रमा युक्रेनी प्रत्याक्रमण रोक्न उत्तर कोरियाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

रिपोर्टअनुसार प्योङयाङले कुस्र्क क्षेत्रमा सेना तैनाथ गरी किएभको लामो समयदेखिको प्रत्याक्रमण कमजोर बनाएको छ। यस क्रममा सहभागी उत्तर कोरियाली सैनिकलाई रुसले सैन्य पुरस्कारसमेत प्रदान गरेको जनाएको छ।

तर युद्धको मानवीय लागत पनि बढ्दो देखिएको छ। सोलका अनुसार युक्रेनसँगको युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएका छन्। साथै, केही रिपोर्टहरूले उत्तर कोरियाली सैनिकलाई बन्दी बन्नुभन्दा आत्महत्या गर्न निर्देशन दिइएको दाबी गरेका छन्।

हालसम्म केवल दुई उत्तर कोरियाली सैनिक मात्र जीवितै पक्राउ परेका छन् र उनीहरू युक्रेनी नियन्त्रणमा रहेको जनाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077