झापा । झापाको भद्रपुर नगरपालिका–३, ज्ञानेचोकस्थित एक निजी गोदामबाट प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको चाइनिज खरबुजाको बिउ बरामद गरेको छ ।
कानुनी प्रक्रिया पूरा भएको प्रमाण तत्काल पेश गर्न नसकिएपछि प्रहरीले ठूलो परिमाणमा बिउ नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले आइतबार साँझ करिब ५ बजे भीमलाल सुवेदीको घरमा रहेका दुईवटा गोदाममा छापा मार्दा ९४८ बोरा (३७ हजार ९२० केजी) चाइनिज खरबुजाको बिउ फेला पारेको थियो।
प्रत्येक बोरामा ४० केजीका दरले प्याक गरिएको उक्त बिउको अनुमानित बजार मूल्य करिब एक करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार छापा मार्नुअघि बिउका धनीसँग टेलिफोनमार्फत सम्पर्क हुँदा तेस्रो मुलुकबाट कानुनी प्रक्रिया पूरा गरी बिउ आयात गरिएको र आवश्यक बिलबिजक रहेको दाबी गरिएको थियो। तर, सम्बन्धित व्यक्ति आवश्यक कागजातसहित उपस्थित हुन नसकेपछि करिब पाँच घण्टासम्म गरिएको अनुसन्धानपछि सम्पूर्ण बिउ नियन्त्रणमा लिइएको हो।
बरामद गरिएको बिउ आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ।