काठमाडौं । सिंहदरबारको दक्षिण गेटमा धर्ना बसेका दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पानीमा भिज्दै निहारिका सिंह राजपूत र बिनु कठायत सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका थिए। गृह मन्त्रालयमा आफ्ना समस्या राख्न सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै प्रहरीले रोकेको थियो।
उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदमार्फत प्रवेश पासको व्यवस्था गरिएको दाबी गरे पनि प्रहरीले माथिल्लो निकायको निर्देशन भन्दै सिंहदरबार प्रवेश गर्न नदिएको जनाएको छ।
विगतमा ‘कुमारी आमा’ प्रकरणबाट चर्चामा आएकी निहारिका र आफू घरेलु हिंसापीडित रहेको बताउँदै आएकी बिनु आफ्ना समस्या गृह मन्त्रालयसमक्ष राख्न चाहन्थे।
प्रवेशमा रोक लगाएपछि बिनु सडकमै सुतेर विरोध जनाएकी थिइन् भने निहारिका सानो बच्चा च्यापेर वर्षामा भिज्दै गेटमै बसेकी थिइन्।
उनीहरूको माग गृह मन्त्रालयमा पुगेर आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने रहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आवश्यक समन्वयका लागि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार पठाइएको छ।