काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धकको समेत जिम्मेवारीमा रहने गरी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसैगरी अनुचित लेनदेन तथा मिटरब्याजसम्बन्धी यसअघिको सरकारले बनाएको प्रतिवेदन गृहमन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय समेत आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि भएको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका बाँकी निर्णयहरु
–बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने ।
–सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने ।
–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने ।
–नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने ।
–अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने ।