Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

अझै शक्तिशाली बन्दै गृहमन्त्री गुरुङ, शाहको महामन्त्री पद ढकालले खोस्दै !

अझै शक्तिशाली बन्दै गृहमन्त्री गुरुङ, शाहको महामन्त्री पद ढकालले खोस्दै !

मंगलवार , श्रावण १२, २०८३

काठमाडौँ । महाधिवेशनको एक महिनापछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति विस्तारको तयारी गरेको छ । 

पार्टी सभापति रवि लामिछानेले निर्वाचित भएका बाहेकका केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी थालेका हुन् । 

बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको दोस्रो बैठकले केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको हो।

महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको बैठकको कार्यसूचीमा महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषय समावेश छन्।

रास्वपाको विधानअनुसार ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई छ। तर बुधबारको बैठकबाट केन्द्रीय समितिले पूर्णता पाउने सम्भावना भने न्यून देखिन्छ । 

रास्वपाभित्र अहिले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ र सभापति लामिछाने पक्षधरबीच पदमा पुग्न हानाथाप नै चलेको छ । पार्टी दुई धारमा बाँडिएकाले भोली नै केन्द्रीय समितिले पूर्णता पाउने सम्भावना नभएको स्रोत बताउँछ । 

महाधिवेशनले संशोधनसहित पारित गरेको विधानमा १८ जना पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। असार ७ देखि १२ गतेसम्म चितवनमा भएको प्रथम महाधिवेशनले सभापतिसहित सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो। 

बाँकी ५१ जना मनोनीत हुन बाँकी छन्। रास्वपाले वरिष्ठ नेतालाई पदाधिकारीमा राखेको छैन। एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ। 

रास्वपामा पदाधिकारी बन्न केन्द्रीय सदस्य अनिवार्य हुनुपर्छ। त्यसकारण बैठकले पहिले केन्द्रीय सदस्य मनोनीत गरेर पदाधिकारी बनाउनुपर्ने छ।

महाधिवेशनमा प्रतिनिधिको प्रत्यक्ष मतदानबाट सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतम निर्वाचित भएका छन्। महामन्त्रीमा विपिन आचार्य तथा तीन सहमहामन्त्रीमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका छन्।

रास्वपाका एक नेताका अनुसार वरिष्ठ नेता शाह समूहले नामावली उपलब्ध नगराउँदा केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको हो।

सबैभन्दा अचम्म त के छ भने हाल गृहमन्त्री रहेका सुधन गुरुङ पार्टी उपसभापति बन्ने सम्भावना छ । विचौलियाको उपमा पाएका विवादित व्यवसायी दिपक भट्टसँग साझेदारी गरेको भेटिएपछि राजीनामा दिएका उनै गुरुङ पुनः गृहमन्त्री बनेका व्यक्ति हुन् । 

आइतबार सुनसरीमा भएको घटनापछि चौतर्फी रुपमा उनको राजीनामा माग भइरहेका बेला यता पार्टीमा भने उनलाई उपसभापति नै बनाउने तयारी भएको स्रोतको दावी छ । 

उपसभापतिमा बालेनका विश्वासपात्र रहेका सुनिल लम्सालको पनि दाबी छ। तर, भौतिक पूर्वाधार मन्त्री रहेका लम्सालभन्दा गुरुङलाई उपसभापति बनाउन सभापति रवि सकारात्मक रहेको स्रोतको दाबी छ।

‘समावेशी पनि हुने  र रवि र बालेनलाई एक ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका खेलेकै कारण उपसभापतिका लागि गुरुङ नै प्रमुख दाबेदार हुन् । यसमा रवि–बालेन सहमत हुन्छन् ।’–स्रोतले अनलाइन नेपालसँग भन्यो । यस

यद्यपी लामिछानेमाथि सबै पक्षलाई मिलाउनु पर्ने दबाब कायमै छ । सभापति लामिछाने भूगोल, समावेशी र कार्यक्षमता हेरेर केन्द्रीय समितिलाई छिट्टै पूर्णता दिने तयारीमा छन् । 

स्रोतका अनुसार लामिछाने मनोनीत केन्द्रीय सदस्यहरूमध्ये ६०–४० को भाग लगाउन चाहन्छन् । तर, बालेन समूहले ५०–५० को आधारमा केन्द्रीय सदस्य मनोनीत हुनुपर्ने अडान राखेको थियो। 

पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा सभापति लामिछाने र बरिष्ठ नेता शाहबीच निरन्तर छलफलमा रहेको स्रोतको दाबी छ। यद्यपि बालेन समूहले २० जना केन्द्रीय सदस्य पाउने गरी सहमति भएको बुझिएको छ। 

वरिष्ठ नेतामा बालेन शाह नै निर्विकल्प रहेका छन्। विधानमा दुई वा दुईभन्दा बढी वरिष्ठ नेता रहने व्यवस्था भए पनि बालेनकै लागि विधान संशोधन भएको नेताहरूले बताएका छन्। 

त्यसैगरी बालेन समूहले पाउने एक महामन्त्रीमा निवर्तमान महामन्त्री भूपदेव शाह र केन्द्रीय सदस्य सुदीप ढकालबिच प्रतिस्पर्धा रहेको छ। बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदा शाह स्वकीय सचिव थिए भने ढकाल सूचना प्रविधि तथा सुशासन सल्लाहकार थिए। 

शाह फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–२ बाट पराजित भएपछि रास्वपाले व्यवस्थापनका लागि उनलाई महामन्त्री बनाएको थियो। पार्टीले शाहकै लागि विधान संशोधन गरेर दुई महामन्त्री रहने व्यवस्था गरेको थियो। 

तर महाधिवेशनमा रवि पक्षलाई जिताउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री बालेन शाह उनीसँग असन्तुष्ट रहेको बुझिएको छ। खासगरी बालेनका सल्लाहकार कुमार बेन र शाहबीच देखिएको द्वन्द्वका कारण उनको पद ढकालले खोस्न सक्ने स्रोतको दावी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077