Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • म्याग्दीका गाउँलाई सहरसँग जोड्न १३ पक्की पुल बन्दै

    म्याग्दीका गाउँलाई सहरसँग जोड्न १३ पक्की पुल बन्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् ।

    प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए ।



    पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेँसी अर्कला पुल जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही लक्ष्यलाई पछ्याउँदै अहिले यी तीनवटा पुलमा धमाधम काम भइरहेको छ ।



    यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थामा छ । ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो । असी मिटर लम्बाइ रहने यो पुल दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

    कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ । आगामी एक वर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ । बेनी नगरपालिका-४ सिङ्गादेखि मङ्गला गाउँपालिकाको वडा नम्बर ३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माणाधीन छ । यो पुलको कूल लागत १० करोड ७२ लाख १२ हजार छ । यो पनि लुम्बिनी प्राकृतिक जेभीले बनाउन लागेको हो । अहिलेसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

    पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका-७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । उता पश्चिम म्याग्दीको मालिका-५ र धौलागिरि-७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण गरिने भएको छ । यो पुलका लागि इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता गरेको छ ।

    बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखरासँग एकवर्ष अघि ठेक्का सम्झौता भएको थियो । यसरी म्याग्दीका विभिन्न बस्तीलाई शहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ । ‘अब हामी पनि सहरदेखि टाढा छैनौँ भन्ने महसुस हुन थालेको छ’, मालिका गाउँपालिका-२ ताकमका शेरबहादुर विकले भने, ‘गाउँगाउँमा मोटर गुड्न थालेपछि बल्ल विकास भनेको यस्तो हुँदो रहेछ भनेर बुझिँदै छ ।’ रासस

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार