Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुन तस्करीमा बाबुछोरा नै संलग्न, न्युरोडबाट यसरी पक्राउ परे सात जना

    सुन तस्करीमा बाबुछोरा नै संलग्न, न्युरोडबाट यसरी पक्राउ परे सात जना

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 3.3K
    SHARES

    काठमाडौं । डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट सात जनालाई पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सात जनालाई पक्राउ गरेको हो ।



    असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको थियो ।



    घरमा छापा हानेपछि सुन र नगदसहित दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल पक्राउ परेका छन् ।

    त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टेलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

    सुन खरिद–बिक्री हुँदै गरेका बेला पक्राउ परेका उनीहरूको साथबाट १ किलो २२४ ग्राम सुन र १ करोड २६ लाख रुपैयाँ बरामद भयो ।

    उनीहरूकै सूचनाका आधारमा प्रहरीले नजिकै रहेको अर्को घरमा पनि छापा मार्‍यो, जहाँ झापाका २२ वर्षीय भरतराज खरेल र दार्चुलाका २१ वर्षीय आयुष बडू पक्राउ परे । उनीहरूको साथबाट प्रहरीले ७६६।२५ ग्राम सुन र १७ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।

    दुवै ठाउँमा गरेर जम्मा १ किलो ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये गणेशदक्त बडू ७ वर्षअघि ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेको छुटेको व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    न्यूरोडमा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गरेर बसेका उनी तस्करी भएर आएको सुन किन्ने व्यक्ति भएको अभियोगमा पक्राउ परेका थिए ।प्रहरीका अनुसार बिहीबार पक्राउ परेका २२ वर्षीय आयुष, गणेशको आफ्नै छोरा हुन् ।

    झापाका दिनेश र भरतराज खरेल भने उनका सालीका छोराहरू हुन् । अनुसन्धान अधिकृतहरूका अनुसार अहिलेसम्म सुन ल्याउने काममा उनीहरू संलग्नता देखिएका छैन ।

    तर तस्करी गरेर ल्याएको सुन बेच्न भने उनीहरू संलग्न रहेको पाइएको छ । प्रहरीले छापा मारेको दुई कोठामध्ये एउटा आयुष र अर्को भरतराजले भाडामा लिएको खुलेको छ । भाडामा लिएको कोठा तस्करीका सुन राख्नेदेखि कारोबार गर्नेसम्म गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार