Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दोलखाको सुन तस्करी अनुसन्धानमा पनि सिआइबीको बदमासी

    दोलखाको सुन तस्करी अनुसन्धानमा पनि सिआइबीको बदमासी

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानमा चलखेल गरेको आरोपमा यतिबेला सिआइबीका उच्च अधिकारीमाथि कारबाही प्रक्रिया अघि बढेको छ ।

    केही अभियुक्तहरूलाई जोगाएको भन्दै सिआइबी प्रमुख किरण बज्राचार्यसहित चार प्रहरी अधिकृतलाई हटाइएको छ ।



    ब्रेक शु र विद्युतीय चुरोटमा लुकाएर ल्याइएको सुन तस्करीको घटनामा सिआइबीको बदनियत रहेको जाँचबुझ आयोगको निष्कर्षका आधारमा कारबाही अघि बढाइएको हो । अर्को सुन तस्करीको घटनाको अनुसन्धानमा पनि सिआइबीले चलखेल गरेको पाइएको छ ।



    दोलखाको लामाबगर नाकाबाट सुन तस्करी गर्ने गिरोहका केही व्यक्तिहरूलाई सिआइबीले उन्मुक्ति दिएको हो । गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको सुन तस्कर गिरोहसँग निकटता मात्र होइन आर्थिक कारोबार नै थियो । तर, सामान्य सोधपुछ गरेर उनलाई उन्मुक्ति दिइएको सिआइबी स्रोत बताउँछ।

    तस्करीका नाइके अकार लामासँग उनको निकटता र आर्थिक कारोबार भेटिएको थियो । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको दबाबमा सिआइबीले उनलाई जोगाएको स्रोत बताउँछ । लामो समय स्वयम्भू क्षेत्रमा उनीहरू एउटै घरमा समेत बस्दथे ।

    गोरखाको चुमनुब्री चीनसँग नाका जोडिएको क्षेत्र भएकाले त्यहाँबाट पनि उनीहरूले सुन तस्करी गरेको आकलन गरिएको छ । तर, यसबारे विस्तृत अनुसन्धान नै भएन । अर्कोतर्फ निमा माओवादी केन्द्रका नेता भएकाले पनि अनुसन्धानमा चलखेल भएको हो ।

    साथै, दोलखाकै एक गाउँपालिका अध्यक्षको पनि भूमिका शंकास्पद देखिएकोमा उनको त कागज समेत नगरी उन्मुक्ति दिइएको थियो । सो समूहले ३३ किलो सुन तस्करी गरेको भन्दै सोहीअनुसार ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ बिगो दाबी कायम गरी आइतबार जिल्ला अधिकार दोलखामा मुद्दा दायर भइसकेको छ ।

    त्यस्तै, दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी बराबरको क्रिप्टो कारोबार गरेको समेत सिआइबी दाबी छ । तर, क्रिप्टो कारोबारका कतिपय विवरण समेत लुकाएर केही व्यक्तिलाई जोगाइएको स्रोत बताउँछ । जसमा सिआइबीका इन्स्पेक्टर रामकृष्ण पाठकको शंकास्पद भूमिका छ ।

    ६ असोजमा दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो । फलेक नाकाबाट सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउ हुन् ।

    उनीहरूलाई सघाउने सनत प्रधान, लालबहादुर तामाङ, पेम्बा तामाङ, च्याङ्बा भनिने चसमान तामाङ, केसर तामाङ, माधव मगर, चेतनाथ न्यौपाने, नुर्बुछिरिङ शेर्पा र सुनमाला तामाङलाई पनि प्रहरीले पक्राउ गरी मुद्दा दायर भएको थियो ।

    तर, यो घटनाको अनुसन्धानमा पनि चलखेल हुँदा गिरोहसँग आबद्ध र सुन किनबेच गर्ने धेरै जनाले उन्मुक्ति पाएका छन् । यसमा पनि सिआइबीमाथि थप अनुसन्धान गर्नुपर्ने बताइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार