Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढी पीडित मेलम्चीबासीलाई प्रधानमन्त्रीको यस्तो आश्वासन

    बाढी पीडित मेलम्चीबासीलाई प्रधानमन्त्रीको यस्तो आश्वासन

    अनलाइन नेपाल
  • शनिबार, २६ असार २०७८
  • 2.2K
    SHARES

    सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए ।

    राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले भने–‘विपदका समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।’



    उनले बाढी प्रभावितका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिद्वारा वितरण गरिएको राहत लक्षित समुदायसम्म पुग्न नसकेकाले एकद्वार प्रणालीबाट मात्रै वितरण गर्न आह्वान गरे । राहत वितरणभन्दा पनि सामाजिक सञ्जालमा प्रचार मात्रै बढी हुने गरेको बताउँदै राहत वितरणका नाममा विभिन्न धर्मको प्रचारप्रसार नगर्न पनि ओलीले आग्रह गरे ।



    प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक, पुललगायत पूर्वाधारको पुनःनिर्माणको काम तीव्र रुपमा अगाडि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले मेलम्ची बजारमा रहेको चन्द्रशम्शेरद्वारा निर्मित झोलुङ्गे पुललाई संरक्षण गर्नुपर्नेमा पनि जोड दिए ।

    उनले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गरेर कम्तीमा यस वर्षभित्र काठमाडौँ उपत्यकाभित्र पानी ल्याउने व्यवस्था मिलाइने बताए । उनले भने–‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना आयोजना धेरै वर्ष लगाएर सम्पन्न भएकाले पुनःनिर्माणमा लामो समय लगाउनु हुँदैन ।’ आयोजनाको सुरुङ परिक्षण भइरहेकाले त्यसमा क्षति कम भएको उनको भनाई थियो ।

    अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने समेत घोषणा गरे । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो ।

    प्रधानमन्त्री ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ ।

    हेलिकप्टरमा गएका प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पु¥याएको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको अवलोकन गरेका थिए ।

    हेलिकप्टर हेलम्बुको गणेशबगरमा अवतरण भएपछि प्रधानमन्त्री ओलीसहितको सरकारी टोलीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार