Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेको छायाँमा गठबन्धन सरकार

    मन्त्री समाजवादीका, सचिव र डिजी ओलीका

    मन्त्री समाजवादीका, सचिव र डिजी ओलीका

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दलको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् । सरकारका घटक दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी सरकारमा सहभागी छन् । नेकपा मसालले बाहिरैबाट सरकारलाई समर्थन गरेको छ । सरकारको एक घटक नेकपा समाजवादीले चारवटा मन्त्रालयको जिम्मेवारी पाएको छ । ती चार मन्त्रालयमध्ये तीनवटा मन्त्रालयका सचिव भर्खर परिवर्तन भएका छन् ।

    समाजवादीका मन्त्री भएका तीन मन्त्रालयमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकटका सचिवलाई ल्याइएको छ । ओली सरकारको पालामा गृह मन्त्रालयको सचिव रहेका महेश्वर न्यौपानेलाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ल्याइएको छ । न्यौपाने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा थिए भने अर्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए ।



    न्यौपानेलाई देउवा सरकार गठन भएपछि गृहबाट सरुवा गरिएको थियो । गृहमै टिक्नका लागि नेपाल प्रहरीको बढुवा समेत रद्द गर्न न्यौपानेले गृहमन्त्री बालकृष्ण खाँडसँग चाकडी गरेका थिए । एउटा विशिष्ठ श्रेणीको सचिवको हैसियत पनि विर्सेर उनी आफैले गरेको निर्णय समेत रद्द गर्न तम्तयार भएका थिए । तर, खाँडले बढुवा भइसकेको विषय रद्द गर्न हुँदैन भनेर उनलाई झपारेर पठाइदिएका थिए । न्याैपानेले गृहमा हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सरुवा बढुवादेखि विभिन्न ठेक्कापट्टा, यूएन मिसनमा हुने छनौट लगायतका कार्यबाट अकुत सम्पत्ति आर्जन गरेका थिए ।



    गृहबाट सरुवा भएपछि उनी पानी विनाको माछा जस्तो छट्पटाउन पुगे । आरजु देउवासँग पुगेर हारगुहार गरेपछि उनलाई पर्यटनमा ल्याइएकाे हाे । हुनत न्यौपाने ओलीका विश्वासपात्र महेश बस्नेत निकट हुन् । पर्यटनमा उनको यो दोस्रो इन्ट्री हो । पर्यटनमा उनलाई दोस्रो पटक सचिवमा ल्याउन भूमीका खेल्ने नागरिक उड्डयन प्राधिकरणका हर्ताकर्ता प्रदिप अधिकारी पनि हुन् । अधिकारीले सचिव न्यौपानेलाई पीएचडी अध्ययन गर्न सवै खर्च प्रयोजन गरेकाे बताउने गरेका छन् । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री यही पुषमा अवकाश हुने भएकाले त्यसपछि महानिर्देशक बन्ने दाउमा अधिकारी छन् । तर, प्राधिकरणको विनियम अनुसार अधिकारीलाई बनाउन मिल्दैन । प्राधिकरणमा वरिष्ठताका आधारमा भोला गुरागाँई, दिनेशचन्द्रलाल कर्ण र जगन्नाथ निरौला छन् । यी वरिष्ठलाई उछिनेर सचिव न्यौपाने अधिकारीलाई महानिर्देशक बनाउन अहिलेदेखि नै वातावरण बनाइरहेका छन् ।

    पर्यटनमन्त्री प्रेम आलेलाई समेत मागेजति भेटी चढाएर अधिकारीलाई महानिर्देशक बनाउन महेश्वर न्यौपाने सक्रिय भएर लागेको स्रोतको दावी छ । अधिकारी तिनै हुन्, जसले प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरु भैरहवा, पोखरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखका रुपमा एक खर्बको बजेट परिचालन गरेका थिए । यी गौरवका आयोजनाहरुको निर्माणदेखि परामर्शदाता छनौटमा अधिकारीले कराेडाैं कराेड आर्थिक चलखेल गरेका थिए ।

    गौरवका आयोजनामा अर्बौं भ्रष्टाचार गर्ने अधिकारीको कनेक्सन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालसँग थियो । रिमालकै संरक्षणमा विमानस्थलको रनवेकाे ९ अर्बको ठेक्कामा एउटामात्र कम्पनीलाई प्राविधिक मूल्यांकनमा छनौट गरी राज्यलाई ३ अर्ब नोक्सान पारिएकोे थियो । प्राविधिक मूल्यांकनमा पारदर्शिता अपनाइएको भए प्रतिस्पर्धाबाट रनवेको निर्माण ६ अर्बमा निर्माण हुने थियो । यती ग्रुप एजेन्ट रहेको चाइनिज कम्पनीले उक्त ठेक्का पाएको भए पनि डेढ वर्षमा २० प्रतिशत काम पनि गरेको छैन ।

    त्यसैगरी, ओली निकटकै एकनारायण अर्याललाई श्रम मन्त्रालयमा ल्याइएको छ । ओली सरकार रहिरहेकाे भए अर्यालकाे ध्यान गृहसचिव  बन्नेमा केन्द्रीत हुन्थ्याे । उनले श्रममा जानका लागि राम्रै भेटीघाटी बुझाएको चर्चा छ । ओली निकटका एमाले नेता महेश बस्नेतका गाउले मणिराम गेलाललाई सहरी विकास मन्त्रालयको सचिव बनाइएको छ । बस्नेतकै कारण गेलाल पहिलो पटक सिफारिस हुँदा नै सचिवमा बढुवा भएका थिए । उनलाई सहरी विकास जस्तो महत्वपूर्ण मन्त्रालय दिएर सहरीका रमेशप्रसाद सिंहलाई जगेडामा हुत्याइएको छ ।

    ७० करोड घुस काण्डमा मुछिएका एमालेका अर्का नेता गोकुल बास्कोटा निकट सहसचिव पदम कुमार मैनालीलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाइएको छ । मैनाली काभ्रेकै हुन् । मैनाली र अर्का सहसचिव चक्रवर्ती कण्ठ(सहरी विकास महाशाखा प्रमुख) मिलेर भवन विभागमा कोटेशनका आधारमा करोडौं करोडका परामर्शका काम आफू निकट र आफ्ना नातागोताका कन्सलटेन्सीलाई दिएका थिए । कण्ठलाई मैनालीले फेरि भवन निर्माण विभागमा ल्याउन लागेका छन् । कण्ठको भ्रष्टाचार काण्ड सार्वजनिक भएपछि उनी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका थिए । मैनाली महानिर्देशक हुने वित्तिकै उनलाई सहरी विकास मन्त्रालयमा ल्याइसकिएको छ । उनलाई छिट्टै भवन विभागमा सरुवा गरिदैछ ।

    मैनालीकै सेटिङमा कण्ठलाई सहरी भवन विभाग र गेलाललाई सहरी विकास मन्त्रालयको सचिवमा ल्याइसकिएको छ । मैनालीको योजना अनुसार बाँके, धनुषा, रुपन्देही जस्ता भवन विभागका डिभिजनहरुमा प्रमुख परिवर्तन गरिएको छ । विभाग अन्तर्गतका आकर्षक मानिने सहरी विकास महाशाखा, साना सहर आयोजनालगायतका परियोजनामा प्रमुख पनि फेरबदल गरिसकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार