Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मन्त्री आलेलाई आफ्नै मान्छेले धोका दिंदा बतास समूहकै कब्जामा धर्मशाला

    मन्त्री आलेलाई आफ्नै मान्छेले धोका दिंदा बतास समूहकै कब्जामा धर्मशाला

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 36.4K
    SHARES

    काठमाडौं। राज्यको करोडौँ मूल्य पर्ने सम्पत्ति कौडीको दाममा लिन सफल बतास समूहलाई तह लगाउने प्रयासमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई आफ्नै मान्छेले धोका दिएका कारण पशुपति धर्मशालाबाट बतास समूहलाई लखेट्न नसकिएको खुलासा भएको छ।

    अहिले मन्त्री आलेले धर्मशाला खोस्न सकेनन् भनेर बतासलाई सहयोग पुर्‍याउने अरू कोही नभएर उनै मन्त्री आलेले पशुपति विकास कोषमा नियुक्ति दिलाएका एक व्यक्ति रहेको पत्ता लागेको हो।



    यसरी आलेसँगै बसेर उनैलाई ‘उल्लु’ बनाउन सफल पात्र हुन्, पशुपति विकास कोषका कोषाध्यक्ष, नारायण प्रसाद सुवेदी। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी सुवेदीलाई आलेले गएको पुसमा कोषाध्यक्षमा नियुक्ति गरेका थिए ।



    उनलाई नियुक्ति गर्दा सदस्य सचिव डा. मिलन कुमार थापाले आलेलाई साथ नदिएकोले आफ्नो भरपर्दो मानिस ल्याएको चर्चा चलेको थियो। तर, तीन महिना नबित्दै सुबेदी र थापाले कित्ता परिवर्तन गरेको कोष आबद्ध स्रोतले बताएको छ।

    यसरी छोटो समयमा नै आलेको मान्छे बतासको र बतासको मान्छे आलेको बन्नुमा मन्त्री आलेको भने कुनै दोष छैन। उनले नारायणहिटीबाट बतासलाई लखेटेर आफूलाई स्थापित गराइसकेका छन्। कुनै एक मन्त्रीले स्वच्छ र निःस्वार्थी मनले काम गर्‍यो भने यो मुलुकमा धेरै कुरा सुधार्न सकिन्छ भन्ने उदाहरण पेस गरिसकेका छन्।

    तर, दशकौदेखि नेता, कर्मचारी आदिलाई आफ्नो इशारामा नचाउन सफल बतास एक जना सिधासादा मन्त्रीको सामु किन गल्थे। अन्ततः उनले नारायणहिटी आफूलाई बाहिरिन बाध्य पार्ने आलेका सहयोगी मध्येमा गनिएका र पशुपति धर्मशालामा महत्त्वपूर्ण भूमिका निभाउन सक्ने सुबेदीलाई यसबीचमा आफ्नो बनाए। उनै सुबेदीले बतासलाई चैत्र १७ गते धर्मशालाबाट बिदा गर्ने गरी चैत्र १४ गरेको गोप्य निर्णय बतास समक्ष पुर्‍याइदिएको बताइन्छ।

    त्यो सूचना चुहावट कै कारण पशुपति विकास कोषको बतासलाई बिदा गरेर चैत्र १७ गते नै नाथमलाई धर्मशाला जिम्मा दिने योजना असफल भएको हो।

    यदि कोषको निर्णय १५ गते नै नबाहिरिएको भए बतास समूहले अदालतबाट छलफलको आदेश लिन सक्ने थिएन। उच्च अदालतको अघिल्लो निर्णयले धर्मशालाबाट बतासलाई बिदा गर्न कोषलाई बाटो खोलिदिएको अवस्था थियो।

    यसरी बतासको पोल्टामा नारायण सुबेदी पुग्नुको खास कारण पनि रोचक छ। त्यो हो, दुबै जना पोखरेली हुनुको नाता। बतासले पोखराका आफ्ना हितैषीहरूलाई प्रयोग गरेर सुबेदीसँगको आफ्नो सम्बन्धलाई नवीकरण गरेको बतास समूह सम्बद्ध स्रोतले बताएको छ।
    नवीकरण किन भनिएको हो भने सुवेदी राष्ट्रिय बाणिज्य बैंकको जागीरे रहेका बेलामा नै उनीसँग व्यावसायीक साझेदारी रहेको थियो । पोखरावासी रहेका दुबै जना आनन्द बतास र नारायण सुबेदी झन्डै १५ वर्ष अघिदेखि जग्गा कारोबारमा साझेदार थिए।

    बतास निकट स्रोतका अनुसार नारायणका भाइ भानु शर्मा (जो केही वर्षयता बेपत्ता छन्, उनी जीवित छन् या छैनन् भन्ने समेत पत्तो छैन) बाहिर देखिने गरी बतासको साझेदारको रूपमा थिए भने नारायण चाहिँ लगानीकर्ता थिए। स्रोत भन्छ, उनीहरूले बेगनास तालको बसपार्क छेउको १५/१६ रोपनी जमिन किनेर प्लटिंग गर्दै बेचेका थिए। मुनाफा पनि राम्रै आर्जन गरे भन्ने सुन्निन्थ्यो । तर बीचमा के कसरी सुबेदी र बतासको सम्बन्ध बिग्रिएको थियो त्यो थाहा भएन। अहिले भने गोप्य भेटघाट बाक्लै छ। बतास समूहको टंगाल स्थित मुख्यालयमा सुबेदीको आउजाउ रहेको त्यहाँ कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए।

    द्रव्य मोहमा पारेर नेतादेखि कर्मचारीसम्मलाई सजिलै आफ्नो बनाउन सक्ने आनन्द बतासले पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुबेदीलाई प्रभावमा पारे पनि कोषमा उनीभन्दा माथिल्लो तहमा रहेका डा. मिलनकुमार थापाको भने साथ गुमाएका छन्।

    त्यही भएर बतासबाट पशुपति धर्मशाला फिर्ता लिने निर्णयको लागि कोषको बैठकमा सुझाव सहितको प्रस्ताव पेस गर्दै थापाले नै बतासलाई अप्ठ्यारो पार्ने निर्णय गराएको सो निर्णयको ब्यहोरामा नै स्पष्ट रूपमा देखिन्छ। त्यहाँ लेखिएको छ–‘कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले पेस गर्नु भएको राय सहितको प्रस्ताव उपर छलफल गरी देहाय बमोजिमको निर्णय गरियो।’

    त्यसो त बतास थापालाई ‘मेरो मान्छे’ भन्दै प्रचार गर्थे । तर कोषमा यसअघि समेत काम गरिसकेका थापालाई भने के–कसरी बतासले धर्मशाला हत्याएका हुन् भन्ने राम्रो जानकारी थियो। उनीसँग भएको त्यही ज्ञानको आधारमा उनले को सही र को गलत भन्ने छुट्याएर बतासको साथ छोडे र आलेलाई सघाए।

    तर, बतास भने थापालाई आफूले सदस्य सचिव बनाउन सहयोग गरेकोले तिमीले मेरो पक्ष काम गर्नु पर्छ भनेर दबाब दिन थाले। यसरी खराब नियत भएको एक व्यापारीको भन्दा पदमा बसेर राज्य र कोषको नै हित हेर्नुपर्छ भन्ने थापाको भनाइका कारण बतास उनीसँग रिसाए। यता मन्त्री आलेले पनि थापालाई अझैसम्म भित्रैबाट विश्वास भने गरी नसकेको उनका एक सहयोगी बताउँछन्।

    जे होस्, विगत केही समययता ‘धूर्त व्यापारीको अर्को नाम’ को परिचय बनाएका बतासले यो समाजलाई केही गरेर देखाउँछु भन्ने भावना बोकेका एक मन्त्रीलाई केही समयको लागि भए पनि असफल पारेका छन्। आफू विरुद्ध क्रियाशील मन्त्री कै सबैभन्दा नजिकका मान्छेलाई आफ्नो बनाउने बतासको ‘अद्भुत क्षमता’ले अदालतलाई समेत प्रभावमा पार्न सकेन भने अवश्य पनि बतासले धर्मशालाबाट हात धुनै पर्ने हुन्छ। यदि त्यस्तो भएमा त्यसपछी कोषमा रहेका ’बिभीषण’हरू के गर्छन् होला ? यो प्रश्न अहिले पशुपति विकास कोष आसपास गुन्जिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार