Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विचौलिया भट्टको सेटिङमा कालोबजारीका नाइके अग्रवाललाई सम्पत्ति सुद्धिकरणका डिजी भट्टराईले दिए सफाई !

    विचौलिया भट्टको सेटिङमा कालोबजारीका नाइके अग्रवाललाई सम्पत्ति सुद्धिकरणका डिजी भट्टराईले दिए सफाई !

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला कालोबजारी गरेर अकुत सम्पत्ति आर्जन गरेका शंकर समूहका मालिक सुलभ अग्रवाललाई सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले रहस्यमय रुपमा क्लिन चिट दिएको पाइएको छ ।

    विभागको मुख्य काम स्रोत नखुलेका अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिमाथि अनुसन्धान गर्ने र मुद्दा चलाउने भएपनि कूटनीतिक नियोगको गाडी नै प्रयोग गरेर कालोबजारी गरी अकुत सम्पत्ति आर्जन गरेका अग्रवाललाई भने विभागले उन्मुक्ति दिइएको छ ।



    हाइड्रोदेखि सुरक्षा निकायका टेण्डरहरुमा विचौलियाको काम गर्दै आएका दिपक भट्टको डिजाइनमा विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले नै अग्रवाललाई रहस्यमयी रुपमा ‘क्लिन चिट’ दिएको तथ्य सार्वजनिक भएको हो ।



    तत्कालिन महानगरिय प्रहरी परिसर काठमाडौंले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अग्रवाललाई पक्राउ गरी विभागमा बुझाएको थियो । विभागको अनुसन्धानमा अग्रवालले आर्जित गरेको ६ अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति स्रोत नखुलेको देखिएको थियो ।

    तर, करोडौंको आर्थिक चलखेलमा विभागले उनलाई उन्मुक्ति दिएको छ । महानिर्देशक भट्टराईकै निर्देशनमा विभागले उनलाई गत वैशाख २ गते नै पत्र लेखेरै उन्मुक्ति दिएको पाइएको हो । यद्यपी उक्त कुरा अहिलेसम्म बाहिर आएको भने थिएन ।

    विभागले २०७९ वैशाख २ गते अग्रवाललाई लेखेको पत्रमा अग्रवालले सम्पत्ति सुद्धिकरण सम्बन्धि कसुर गरेको नदेखिएको जानकारी गराइएको छ । उक्त पत्रमा पत्र संख्या ०७८।०७९ र चलानी नम्बर ६—३—४४ उल्लेख छ ।

    करको दायरा समेत हेरफेर गर्नसक्ने विचौलिया दिपक भट्टकै डिजाइनमा विभागमा सरुवा भएका प्रेमप्रसाद भट्टराईले ठूलो आर्थिक चलखेल गरी अग्रवाललाई ‘क्लिन चिट’ दिएको स्रोतको दावी छ ।

    अग्रवालले सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागबाट सफाई पाउन विचौलिया भट्टमार्फत करोडौं रुपैयाँ खर्च गरेको स्रोत बताउँछ । भट्टको समूहमा रामचन्द्र भट्ट र तारा सापकोटा पनि रहेका छन् । उक्त समूहले ठूला सम्पत्ति सुद्धिकरणको मुद्दामा क्लिन चिट दिलाउने ठेक्का लिएर सम्पत्ति सुद्धिकरण विभागमा भट्टराईलाई भित्र्याएको पनि स्रोतको बताउँछ ।

    रामचन्द्र भट्ट र तारा सापकोटाले त राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलविरुद्ध बालुवाटरमा कुरा लगाई त्यहाँबाट हटाएका थिए । उनीहरु हालका माहानिर्देशक झलक अधिकारीसँग ठूलाे आर्थिक लाभ लिएर विभागको महानिर्देशक बनाउन सफल भएको स्रोतको दावी छ । रामचन्द्र भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाका साला भुषण राणाको नाम बद्नाम गर्दै हिड्ने विचौलिया समेत हुन् ।

    दिपक भट्ट अग्रवालका व्यावसायीक साझेदार समेत हुन् । उनीहरुको स्वामित्वमा रहेको हिमालयन पुनर्विमा कम्पनिले सेटिङ्गमै विमा कम्पनिको लाइसेन्स भित्र्याएको थियो । उक्त कम्पनिको व्यापार सुनिश्चित गर्न विमा सम्बन्धी निर्देशिका र कार्याविधि नै परिवर्तन गरिएको छ ।

    कोरोनाको महामारीमा मुलुकमा स्वास्थ्य सामग्रीको हाहाकार भएका बेला अग्रवालले कूटनीतिक नियोगको गाडी प्रयोग गरेर तस्करी गरेका थिए । २०७६ चैत्रमा उनी थर्मल गन कालोबजारी गरेको अभियोगमा पक्राउ परेका थिए । ५ हजार रुपैयाँ पर्ने ज्वरो परिक्षण गर्ने थर्मल गनलाई अग्रवालले १५ हजार रुपैयाँमा विक्री गरेको भेटिएपछि उनलाई तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले ३७ थान थर्मल गन समेत बरामद गरेको थियो । प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको गाडी समेत बरामद गरेको थियो ।

    प्रहरीले लामो अनुसन्धानपछि कालोबजारी सम्बन्धी कसुरमा जेल सजाय माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेश गरेको थियो । सरकारी वकिल कार्यालयले उनलाई थुनछेक आदेश माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दियो ।

    अदालतको आदेशसँगै धरौटी तिरेर रिहा भएका उनलाई लगत्तै तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंले पुनः पक्राउ गरि सम्पत्ति सुद्धिकरण विभागलाई बुझाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार