Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईजीपी सिंहको कार्यकालमा किन बढ्यो तस्करी ?

    आईजीपी सिंहको कार्यकालमा किन बढ्यो तस्करी ?

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । अर्थतन्त्रमा संकट आउने र राजस्व असुली कम भई कर्मचारीलाई तलव समेत खुवाउन नसक्ने दिशातिर देश जाँदैछ । यसको मुख्य कारण हो, देशभर तस्करीको संजाल बढ्दै जानु । भारतसँग सीमा जोडिएका कोशी, मधेश र लुम्बिनी प्रदेशबाट नै तस्करी बढिरहेको छ । भन्सार राजस्व घटिरहेको छ ।

    मुख्यगरी मधेश प्रदेशका पर्सा, बारा, रौतहट हुँदै बागमतीको मकवानपुर र चितवनका प्रहरीको सेटिङमा दैनिक करोडौंका तस्करीका सामान निर्वाध रुपमा राजधानी काठमाडौंसम्म आइपुग्ने गरेका छन् । चीनबाट काठमाडौंमा अबैध रुपमा भित्र्याइएको सुनदेखि स्याउसम्म भारतमा तस्करी हुँदै आएको छ । यतिसम्म कि चीनमै बनाइएको भारतकै नक्कली डाबर लाल दन्तमन्झन, फेयर एण्ड लभ्ली समेत तस्करीको माध्यमबाट रक्सौल हुँदै भारतका बिभिन्न शहरमा पुग्ने गरेका छन् ।



    तातोपानी र केरुङबाटै रासायनिक मल तस्करीकै माध्यममबाट नेपाल भित्रने र सडक मार्गबाटै भारतसम्म लाने गरिएको छ । तर, नाका नाकामा प्रहरी भए पनि तस्करीको मल निर्वाध रुपमा भारतबाट चीनतर्फ जाने गरेको स्रोत बताउँछ । देशभर तस्करी बढ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चिन्तित बनेको छ । आयोगमा प्रहरी र सशस्त्रको संरक्षणमा भइरहेको तस्करीको बारेमा केही साता अघि छलफल भएको थियो ।



    अर्थमन्त्रालयकै एक उच्च अधिकारी भन्छन्–‘अर्थमन्त्रालयले मधेश, कोशी र लुम्बिनी प्रदेशमा बढ्दो भन्सार छली चोरी तस्करी नियन्त्रणका लागि गृहमन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराए पनि नेपाल प्रहरीले नै चासो देखाएको छैन ।’ सिंह आईजीपी भएको ११ महिनामा राजस्व असुलीको दररेट हेर्ने हो भने पनि तस्करीको भयाबह रुप देखिनेछ । यस्तो डरलाग्दो तस्करीलाई नियन्त्रण गर्न नसक्ने हो भने देशको राजस्व असुलीको अवस्था थप दर्दनाक हुने ती अधिकारीको भनाई छ । आईजीपी सिंह चैत ११ गते ३० वर्षे सेवाहदका कारण अवकाशमा जाँदैछन् ।

    तस्करीमा सशस्त्र प्रहरीको पनि मिलमतो रहेको पर्सा, बारा, रौतहट, महोत्तरी, नवलपरासी, बाँकेका गण प्रमुखहरुलाई छानबिनका लागि तानिएबाट पनि पुष्टि हुन्छ । तस्करीको यो संजाल नेपाल प्रहरीको उच्चतहबाटै संरक्षित छ । प्रहरीको उच्च तहबाटै पर्सामा इन्स्पेक्टर विदुर शिवाकोटी, बरिष्ठ सई विनोद सिंह, बारामा सागरशमशेर राणा, मकवानपुर र चितवनमा हवल्दार सुरेन्द्रकुमार साहले सेटिङ मिलाउने गरेका छन् । सिंह, राणा र साह जागिरमा प्रवेशदेखि नै पर्सा, बारा र चितवनमा कार्यरत छन् ।

    दर्जाले हवल्दार भए पनि सुरेन्द्रकुमार साह चितवन र मकवानपुर दुवै जिल्लाका प्रहरी प्रमुखमात्र होइन, प्रदेश हुँदै प्रहरीे मुख्यालयको उच्चतहसम्मै सेटिङ मिलाउन सक्षम मानिन्छन् । बीरगञ्जबाट शिवाकोटी र विनोद सिंहको सेटिङमा छाडिएका सामान बाराका कुनै पनि ठाउँमा समाउन नसक्ने ब्यवस्था सागर राणाले मिलाउने गरेको प्रहरी सोत नै दावी गर्छ । विदुर शिवाकोटी, विनोद सिंह र सागर राणा आइजीपी धिरजप्रताप सिंहकै दूतका रुपमा कार्यरत भएकाले उनीहरुलाई जिल्लाका प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुखहरुले चाहेर पनि केही गर्न सामथ्र्य राख्दैनन् । तस्करहरुले माथि नै सेटिङ गरी सधैं बारा–पर्सामा यिनीहरुलाई नै राख्न सफल छन् ।

    मकवानपुर र चितवनमा हवल्दार सुरेद्र साहले सेटिङ मिलाउने गरेका छन् । धादिङमा प्रायः कहीँ चेकजाँच हुँदैन । तस्कर संजालले गरेको यही सेटिङमा बारा र पर्साका सीमावर्ती क्षेत्रबाट सजिलै अवैध रुपमा नेपाल भित्र्याइएको मालसमान मुलुकको राजधानी काठमाडौंसम्म पु¥याउने गरेको छ ।

    साह ९ बर्ष मकवानपुरको पशुपतिनगरस्थित रातमाटे चेकपोष्टमा कार्यरत रहेका थिए । जुन नाकामा बस्ने क्रममा उनलाई तस्करीको नेटवर्क, तस्करीमा प्रयोग हुने ट्रान्सपोर्टहरुको नालीबेली थाहा थियो । लागूऔषधसमेत भारततर्फ जाने गरेको रातमाटे चेकपोष्टमा कार्यरत रहेका उनले तस्करीको नेटवर्क सञ्चालन गरेकोबारेमा धेरै गुनासा आएपछि तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीले उनलाई तानेर १ नम्बर गण टंगालमा कारबाहीस्वरुप १५ दिन राखी गोरखामा सरुवा गरेका थिए ।

    गोरखामा सरुवा भएका साह दिवेशकुमार लोहनी गण्डकीको डीआईजी हुँदा च्यानल लगाएर नवलपरासीको इलाका प्रहरी कार्यालय गैंडाकोटमा सरुवा मिलाउन सफल भए । पछि सेटिङ मिलाएर २ बर्षदेखि पुनः जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा मिलाएर आए । चितवनमा यसअघिका एसपी नवराज अधिकारीले जान अन्जानमा उनलाई घुमुवाका रुपमा राखेका थिए ।

    नयाँ एसपी रामेश्वर कार्कीले पनि उनलाई घुमुवामै राखिरहेका छन् । वर्तमान एसपी जानासाथ उनलाई पनि काम गर्नसक्छ भनेर देखाउन साहले सुन बरामद गरेर देखाइसकेका छन् । सुन तस्करीको संजालबारे सबै जानकारी सुरेन्द्र साहलाई छ । बीरगञ्जका खुँखार सुन तस्कर राजु दारुका जो ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा समेत पक्राउ परेका थिए, उनीसँग पनि हवल्दार साहको कनेक्सन रहेको छ ।

    तस्करीको संजालबारे जानकार सुरेन्द्रले सुन बरामद गरी तस्करीमा संलग्न ३ भारतीय नागरिकालाई पक्राउ गरी हालका चितवनका एसपी रामेश्वर कार्कीको मन समेत जित्न सफल भएका छन् । साहको सक्रियतामा यही फागुन १७ गते अनुमानित मूल्य १ करोड १० लाख बराबरका सुनका गरहना बरामद गरिएको थियो । राजु दारुकाकै सूचनामा साहले उक्त सुन बरामद गरेको समेत चर्चा हुने गरेको छ ।

    हरेक एसपी आउनासाथ उनले एउटा एउटा चर्चामा आउने काम गरेर मन जित्ने र उनको कार्यकालभरी तस्करीको नेटवर्क निर्वाध संचालन गर्ने गरेको उनलाई नजिकबाट चिन्ने प्रहरी बताउँछन् । यसअघिका एसपी नवराज अधिकारी चितवानमा सरुवा भएको केही दिनमै उनले ३ ट्रक तस्करीको कपडा बरामद गरी काम देखाएका थिए । तर, अधिकारीको कार्यकालभरी छिटपुटबाहेक फेरि ठूलोमात्रामा तस्करीको कुनै सामान बरामद भएन ।

    चितवनमात्र होइन, साह मकवानपुरका एसपी वामदेव गौतमका पनि विश्वासिला मानिन्छन् । गौतमको समेत मन जितेर तस्करीको संजालबाट दररेट उठाउने काम पनि उनैले गर्दै आएको आरोप छ । साहले अप्रत्यक्षरुपमा गौतमको घुमुवाको काम पनि गर्दैैआएका छन् । गौतम यसअघि मकवानपुरमा १८ महिना डीएसपी हुँदा साहको तस्करसँगको नेटवर्कबारे जानकार भएकाले एसपीमा जानासाथ बामगती प्रदेशका तत्कालीन डीआइजी किरण बज्राचार्यलाई हवल्दार साहलाई सरुवा गरिदिनुपर्यो भनेर अनुरोध गरेका थिए । तर, बज्राचार्यले साह यसअघि ९ बर्ष बस्दै बदनाम भएकाले उसका बारेमा धेरै उजुरी परिसकेको, एकपटक कारबाहीस्वरुप सरुवा समेत भएकाले सरुवा गर्न अस्वीकार गरेकी थिइन् ।

    हवल्दार साहको पहुँच बागमती प्रदेशका डीआईजी तथा भावी आईजीपीका दाबेदार (हाल एआईजीमा सिफारिस) दीपक थापासँग त झन् कसिलो छ । थापा चितवनको एसपी हुँदा साह घुमुवाका रुपमा कार्यरत रहेका थिए । चितवन र मकवानपुरका एसपीको मन जितेका उनलाई डीआईजी थापाको समेत उत्तिकै साथ र सहयोग रहेको प्रहरी स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार