Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

    महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 345
    SHARES

    गोदावरी । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ ।

    धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।



    प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ ।



    वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन् ।

    एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए ।

    धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख दुई हजार ६०७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।

    लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।

    वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।

    लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार