Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पार्टीको नाम भन्दा पनि काम ठूलो हो, अब परिवर्तन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

    पार्टीको नाम भन्दा पनि काम ठूलो हो, अब परिवर्तन गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

    कोशीमा कांग्रेसले धोका दियो, गठबन्धनबारे सोच्नुपर्ने बेला आएको छ

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 225
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम भन्दा पनि काम ठूलो हुने बताएका छन् । माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् ।

    सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा प्रचण्डले सम्बोधन गर्दै माओवादीको पहिचान नामले भन्दा पनि कामले गर्दा रहेको तर्क गरे । उनले भने–‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो । नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ ।’



    बैठकमा प्रचण्डले अब जातिय र क्षेत्रिय मोर्चालाई पूनर्जिवित गरी संगठित आन्दोलन गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने बताए । साथै, उनले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको स्वीकार गरेका छन् । उनले भने–‘हामीले थाहा नै नपाइकन वर्ग छाडेको साँचो हो ।’



    अबको अभियान आन्दोलनको रुपमा हुने भन्दै उनले तराई मधेस केन्द्रित र जागरण अभियान चलाउने बताए । उनले मधेस र सहरी क्षेत्रमा पार्टीले धेरै कमजोरी गरेको भन्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने बताए ।

    उनले फागुन पहिलो साता विधान महाधिवेशन सकिएपछि विशेष महाविधेशनको तयारीमा लाग्न समेत कार्यकर्तालई निर्देशन दिए ।

    बैठकमा उनले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

    प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी समेत बैठकलाई गराए ।कोशीमा सत्ता गठबन्धनबीच माओवादी केन्द्रलाई मुख्यमन्त्री पद दिने सहमति भएको थियो । तर, मुख्यमन्त्रीमा दाबी पेश गर्ने दिन कांग्रेसको शेखर कोइराला पक्षका केदार कार्कीले एमालेको समर्थनमा बहुमत जुटाएर आफैं दाबी पेश गरे । त्यसपछि माओवादीले पनि उनै कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

    त्यस्तै गत ११ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी केन्द्रकी उम्मेदवार चम्पा कार्की एमाले उम्मेदवारसँग पराजित भएकी थिइन् । सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार