Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देउराली सहकारीलाई अर्बौं ऋण दिँदा पक्राउ परे प्रभु बैंकका डेपुटी सीईओसहित ११ जना

    देउराली सहकारीलाई अर्बौं ऋण दिँदा पक्राउ परे प्रभु बैंकका डेपुटी सीईओसहित ११ जना

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने,सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम, सविन घिमिरे,सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान,सुनिल बस्नेत,मनोज न्यौपाने,दिलीप बराल,दिपेश प्रधान,राजेश भण्डारी,रमण श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।



    सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।



    सीआइबी स्रोतका अनुसार उनीहरुलाई देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा पक्राउ गरिएको हो ।

    तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो। त्यस बेला बैंकले पर्याप्त धितो नलिइ देउराली सहकारीलाई करिब दुई अर्ब रुपैयाँ ऋण दिएको थियो।

    सेञ्चुरी बैंकले पूजा मार्केटिङ प्रालिको नाममा ऋण दिएको थियो। त्यसको सञ्चालक र जमानीकर्ता रवीन्द्र चौलागाई हुन्। यस्तै, पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी प्रालिका नाममा पनि ऋण चलाइएको छ। यसको सञ्चालक रवीन्द्रकी श्रीमती पूजा खत्री हुन्।

    देउराली सहकारीमा अत्यधिक ऋण प्रवाह भएको पाइएपछि केन्द्रीय बैंकले थप अनुसन्धानका लागि सिईआबीलाई अनुरोध गरेको थियो ।  प्रभुले त्यस्ता ऋण उठाउन पटक पटक ताकेता गरेपनि उठाउन सकिरहेको छैन ।

    ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा अहिले समस्यामा परेको छ । यसका अध्यक्ष चौलागाई भने आफै पनि थुनामा छन् ।

    सेञ्चुरी कमर्सियल बैंकले सञ्चालक पूजा र राजेन्द्र खत्री रहेको श्री ब्रदर्श मार्केटिङ प्रा.लिका नाममा पनि ऋण प्रवाह गरेको थियो। देउराली सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयीभन्दा बढी अपचलन गरेको आरोपमा प्रहरीले रवीन्द्रलाई पक्राउ गरेको छ ।

    चौलागाईले १० वटा कम्पनीबाट बैंकहरुको ४ अर्ब र सहकारीको ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सहकारी सञ्चालकहरुलाई दिएको ऋण डुबेको बिषयलाई सीआईबीले हेर्न थालेको छ।

    अब अन्य सहकारीका सञ्चालकलाई दिएको ऋणका बारेमा पनि अनुसन्धान गर्ने भएको छ। नेपाल एसबीआई बैंकसहितका केही बैंकमाथि पनि सीआईबीले अनुसन्धान सुरु गरेको स्रोतले बतायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार