काठमाडौं । नेपालको मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ ।
मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
त्यस कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन) का संस्थापक डा. आभास मास्केको समेत उपस्थिति रहेको भारतीय विदेश मन्त्रालयले जानकारी गराएको छ ।
नेपाली अन्तरिक्ष स्टार्टअप एपीएनले उक्त स्याटेलाइटको डिजाइन र निर्माणमा यहाँका विद्यार्थीलाई सहयोग गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए ।