काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्योगमा बिजुलीको लाइन काट्नु घाँटी काट्नुसरह भएको बताएका छन्।
नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगीहरूलाई अन्य कारबाही गर्ने व्यवस्था हुँदाहुँदै विद्युत प्राधिकरण अन्तिम निर्णायमा पुगेर लाइन काटेको आरोप लगाए।
उर्जामन्त्री खड्काले भने,'कसैले विद्युत प्रयोग गरेबापत पैसा तिर्नुपर्छ। त्यसको मूल्य निर्धारण भएको छ। तर तिर्नुपर्ने भनिएको कुरा न्यायोचित छ कि छैन यसमा राज्यले ध्यान दिन जरूरी छ।'
अन्य काम गर्दा पनि प्राधिकरणले तालमेल मिलाएर गर्न नसकेको उर्जामन्त्री खड्काले बताए। तालमेल मिलाएर काम गर्न नसक्दा बनिसकेका आयोजनाको बिजुली खेर गइरहेको उनको भनाई छ ।