काठमाडौं । अपराध नियन्त्रणमा खटिनुपर्ने प्रहरीहरु आफैं अपराधमा संलग्न हुन थालेका छन् ।
काठमाडौंमा एक प्रहरी डकैती आरोपमा थुनामा छन् भने अर्कालाई ५० लाख ठगीको आरोप लागेको छ ।
अपराध अनुसन्धान कार्यालय अन्र्तगत महाराजगञ्ज वृत्तमा कार्यरत प्रहरी जवान डम्मलाल पाध्याय डकैती आरोपमा थुनामा छन् ।
गत २९ साउनमा ललितपुर महानगरपालिका–१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकबाट चार वटा मोबाइल, एउटा ल्यापटप, एउटा गेम बक्स तथा २ तोला बराबरको सुनको सिक्री डकैती गरेको अभियोग उनीमाथि छ ।
जवान पाध्यायसहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका–२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल समेत पक्राउ परेका छन् ।
विदेशबाट तस्करी गरि ल्याएको भन्दै उनीहरुले यसरी डकैती गरेका हुन् । यो घटनामा संलग्न अर्का एक प्रहरी फरार रहेको स्रोत बताउँछ ।
त्यस्तै, क्रिप्टोकारोबारीसँग ५० लाख असुलेको आरोप लागेका काठमाडौं परिसरका हवल्दार गणेश खड्कामाथि समेत अनुसन्धान जारी छ ।
क्यानाडा बस्ने एक युवकलाई उनले सोधपुछमा बोलाएका थिए । क्रिप्टोकारोबारमा संलग्न ती युवक फस्ने डरले बिचौलियामार्फत ५० लाख बुझाएर क्यानाडा भागेका छन् ।
बिचौलियामार्फत नै सूचना लिएर उनले धम्काई पैसा असुलेको खुलेको छ । सो घटनाको अनुसन्धानमा परिसर एसपी नवराज अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।