धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।
उनलाई बिहीबार साझँ साढे ४ बजे आइसियुबाट प्राइभेट वार्डमा सारिएको हो । मेयर हमाललाई शनिवारदेखि दिल्लीस्थित म्याक्स हस्पिटलको न्युरोइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको थियो ।
चिकित्सकले मेयर हमालको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको भन्दै नर्मल वार्डमा सारेका हुन् । नर्मल वार्डमा मेयर हमालको चिकित्सककै निगरानीमा उपचार हुने बताइएको छ ।
उपचारमा संलग्न चिकित्सकले मेयर हमालको अवस्था खतरामुक्त रहेको भन्दै प्राइभेट वार्डमा सारेर केही दिन उपचार गर्नुपर्ने सल्लाह दिइएको बताइएको छ । मेयर हामलले पनि आफूलाई क्रमिक सुधार हुँदै गएको जानकारी दिए ।
उनले आफूलाई मृत्युको मुखबाट फिर्ता ल्याएको भन्दै शुभचिन्तकलाई धन्यवाद दिए । मेयर हमालको सचिवालयले सार्वजनिक गरेको भिडियोमा उनी भावुक देखिएका छन् ।
जहाँ उनले यहाँहरुको सद्भावले आफूलाई अहिले ठिक भएको भन्दै केही दिनपछि उपचार गरेर फर्किने जानकारी दिए ।