काठमाडौं । वित्तिय क्षेत्रको लगानीले व्यवसायमा ठूलो फड्को मारेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल चरम विवादमा मुछिएका छन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् ।
बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका उनी अहिले आफूलाई नेपालका सफल व्यावसायीहरुको सूचीमा पार्न सफल छन् । अहिले अधिकांश नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग पनि उनको मिहेनतको थोरै साइनो छ । उनको रेमिट्यान्स कम्पनी आईएमईसँग अपरिचित नेपाली कमै होलान् ।
ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपका हिस्सेदारी छ ।
पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । पाथिभरा, गैंडाकोट, पोखराको सिकलेस, बुटवल, प्युठानको स्वर्गद्वारी र कैलालीको चिसापानी राजडाँडामा केबलकारसहितको गन्तव्य बनाउने योजनामा उनी अघि बढेका छन् । चिसापानी र पाथिभरामा पनि केबलकार निर्माणका शिलान्यास भइसकेको छ ।
तर, पछिल्लो समय ढकाल केबुलकारकै कारण विवादमा मुछिदै आएका छन् । काठमाडौंको नजिकै चन्द्रगिरीमा केबुलकार निर्माण गर्दा उनी चरम विवादमा मुछिएका थिए । सरकारले २०७३ सालमा ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र ढकालको कम्पनीलाई भाडामा दिँदा वन ऐन र नियमावली मिचेको पुष्टि नै भएको थियो ।
ऐन र नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण वन क्षेत्र फडानी गरी केबलकार र होटल चलाउन काठमाडौं फनपार्क (चन्द्रागिरि हिल्स लिमिटेड) लाई बिनाप्रतिस्पर्धा दिएपछि चौतर्फी त्यसको विरोध समेत भएको थियो ।
यद्यपी राजनीतिक साँठगाँठमा समेत माहिर मानिएका ढकालले राज्य शक्तिको दुरुपयोग गरेर चन्द्रागिरीमा केबुलकार निर्वाध सञ्चालन गरिरहेका छन् । चन्द्रागिरीको सफलता पछि उनी ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथिभरामा केबलकार निर्माणमा जुटिरहेका छन् । तर, त्यहाँ चर्को विरोध भएपछि उनी समस्यामा पर्ने भएका हुन् । पाथिभरामा केबुलकार निर्माणको मात्रै विरोध भएको छैन ढकालको स्वामित्वमा रहेका सबै कम्पनीहरुमाथि नै विरोध शुरु भएको छ । जसले गर्दा ढकाल समस्यामा पर्ने देखिन्छ ।
ढकालकै कारण अहिले आदिवासी जनजाती र लिम्बु समुदायको सम्भ्यता ध्वस्त बन्न लागेको भन्दै अभियान्ताहरुले आइएमई ब्राण्डका सम्पूर्ण कारोबार बहिष्कारको अभियानलाई तिब्र बनाएका छन् ।
ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंक, ग्लोबल रेमिट, आइएमई पे लगायतमा कारोबार बाहिष्कारको अभियान निकै बढेको छ । सामाजिक सञ्जालमा संगठित रुपमा उनीहरुले यो अभियानलाई अघि बढाएका छन् ।
गत माघ १५ गते किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयका महासचिव निरन्ती तुम्बाम्पोद्वारा जारी विज्ञप्तिमा ग्लोबल आइएमई बैंकको खाता बन्द गरिएको घोषणा गरिएको छ । उनीहरुले विभिन्न प्रदेश तथा जिल्ला कार्यालय र विषयगत समिति र वडालाई समेत सर्कुलर गर्दै ग्लोबल आइएमई बैंकको खाता बन्द गर्न उर्दि नै जारी गरेका छन् ।
ताप्लेजुङस्थित याक्थुङ लिम्बु समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थल मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माण गरि पवित्र आध्यात्मिक मुन्धुमी स्थल ध्वस्त बनाएको, परम्परागत पुजा प्रक्रिया विथोल्न पचासौँ हजार मुन्धुमी बोटवृक्षहरु, राष्ट्रिय फूल लालीगुराँसका रुखहरु फडानी गरी पर्यावरण सखाप पारेकोलगायत आरोपसहित उनीहरुले खाता बन्द गर्न सर्कुलर गरेका हुन् ।

ढकाल समूहको आइएमई रेमिटबाट रकम नपठाउन समेत उनीहरुले सर्कुलर गरेका छन् । निर्देशन अनुसार अधिकांश अभियान्ताले खाता बन्द गरेको जानकारी सहित सामाजिक संजालमा राख्न थालेका छन् । अभियान्ताहरुले खाता बन्द गर्नका लागि डिजिटल अभियान समेत थालेका छन् ।
सामाजिक संजालमा भेटिएका अधिकांश पोस्टरमा आइएमई बहिस्कारको नारा लेखिएको छ । कतिपयले बैंकको ब्रान्चमै गएर खाता बन्द गर्न निवेदन दिएर तस्विर नै सामाजिक सञ्जालमा राखेर विरोध गरिरहेका छन् ।
यो अभियानले तिब्रता पाएसँगै ढकाल नेतृत्वको बैंक र वित्तिय संस्था नै धरासायी बन्ने खतरा बढेको छ ।
विभिन्न विरोधका बाबजुद ताप्लेजुङको सदरमुकाम फुङ्लिङ वडा नंबर १० मा पर्ने काफ्लेपाटीदेखि करिब आठसय मिटर अगाडी पाथीभरा केवलकार निर्माणस्थलमा कात्तिक २३ गते शुक्रबा दिउँसो १ बजे शिलान्यास कार्यक्रम राखिएको थियो ।
संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायतको उपस्थितीमा सो कार्यक्रम गर्ने भनिएको थियो । तर, तय भइसकेको कार्यक्रम हुन सकेन । कार्यक्रमस्थल रणमैदान बन्यो ।
शुक्रबार निर्माण गर्नुपर्छ र निर्माण गर्न हुन्न भन्ने दुईपक्षबीच झडप हुँदा प्रहरीसहित ६ जना घाइते भएका थिए ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार विस्तारको नाममा ढकाल समुहले मुन्धुम सभ्यताको सर्वनास पार्दै आएको भन्दै चौतर्फी विरोध भईरहेको छ ।
केहीदिन अघि ढकाल समूहले स्थानिय अधिकारकर्मीमाथि प्रहरी लगाएर गोली समेत चलाएको थियो । प्रहरीको गोलीपछि ढकालको आलोचना झनै चर्किएको छ ।
विरोध किन ?
केबुलकार निर्माणको विरोध गर्नुको कारण–मुन्धुम सभ्यता हो । याक्थुङ लिम्बूहरुको मुन्धुमी आध्यामिकस्थलका रुपमा पाथीभरालाई मानिन्छ । पाथीभरा पहाडलाई उनीहरु “मुकुम्लुङ” भनेर चिन्दछन ।
लिम्बू भाषामा ‘मुकुम्’को अर्थ शक्ति वा बल, ‘लुङ’को अर्थ ढुंगा भन्ने जनाउँदछ । अर्थात लिम्बु जातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत रूपमा मान्छन् । यस्तो क्षेत्रमा कुनैपनि व्यवसायिक कार्य गर्न नहुने भन्दै उनीहरुले विरोध गर्दै आएका हुन् ।
नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार निर्माण गर्ने बहानामा लिम्बूहरूको साँस्कृतिक तथा धार्मिक धरोहरमाथि अतिक्रमण हुन लागेको संसदमै बताएकी थिइन् । तर, सोही क्षेत्रका नेकपा एमालेका सांसद योगेश भट्टराइ भने केबुलकार निर्माण गर्नुपर्ने पक्षमा छन् ।
पूर्व मन्त्रीसमेत रहेकी सांसद लिम्बूलले भनेकी छन्–‘ताप्लेजुङको पाथीभरा मुकुलुङ क्षेत्र आदिबासी लिम्बूहरूको पवित्र धार्मिक स्थल हो । धार्मिक आस्थाको धरोहर हो । प्रकृतिपूजक जाति हो लिम्बू, सो क्षेत्रसँग उनीहरूको धार्मिक, साँस्कृतिक र मुन्धुमी सम्बन्धहरू जोडिएको छ । यो क्षेत्रमा हजारौं वर्ष पुराना जडिबुटी, वनस्पति तथा वन्यजन्तुहरू छन् । एउटा निजी कम्पनी पोस्ने गरी अहिले जंगल फडानी भइरहेको छ । एउटा निजी कम्पनीको हितका लागि जंगल फडानी भइरहेको छ । यसले हिमाली चराचुरूङ्गी, रेडपान्डा सहितका वन्यजन्तुहरू समेत सखाप पार्न खोजिँदैछ ।’
पाथीभरामा केबलकार निर्माणको विषय स्थानीयको विरोधमा मात्र सीमित छैन, यो विषय सर्वोच्च अदालतसम्म पुगेको छ । ताप्लेजुङको छिमेकी जिल्ला, पाँचथरको फालेलुङ गाउँपालिका–१ का आइन्द्रकुमार लिम्बूले केबलकार निर्माण रोक्न माग गर्दै २०७७ फागुन ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
तर पटक–पटक पेसीमा चढेर पनि सो रिटमाथि अन्तिम सुनुवाइ हुन सकेको छैन । रिटमा त्यो ठाउँमा केबलकार निर्माणले धार्मिक आस्थाको मुन्धुमी स्थल, ऐतिहासिक एवम् पुरातात्विक महत्व र सांस्कृतिक मूल्यमान्यता, परम्परा, पहिचान तथा अस्तित्व तोडमोड हुने दाबी गरिएको छ ।
यो केवलकार निर्माण भएमा धार्मीक सभ्यतामाथि आक्रमण भएको छैन । प्रकृतीमाथि पनि आक्रमण भएको छ । यो निर्माणका लागि २.७२ किमि क्षेत्रफलमा रहेको १४ हजार २३१ वटा रुख काट्नुपर्छ जसले पर्यावर्णमा पनि समस्या पुर्याउने स्थानीयहरु बताउँछन् ।