काठमाडौं । भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं उपत्यकामा लामो समय कार्यरत शाखा अधिकृत र उपसचिवहरुलाई स्थानीय तहमा सरुवा गरेको छ ।
मन्त्री प्रतिभा रावलले लामो समय कार्यरत कर्मचारीलाई स्थानीय तहमा खटाएर राम्रो काम गरेकी छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा विगतमा शक्तिकेन्द्रको वरिपरि बसेका र आकर्षक कार्यालयमा तर मार्ने पावरफूल उपसचिवहरुलाई मन्त्री रावलले चलाउन नसकेको गुनासो पनि आइरहेको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका निजी सचिव भएका र बुटवल राजस्व कार्यालयको प्रमुख जस्तो आकर्षक कार्यालयमा बसिसकेका उपसचिव विवेक घिमिरे सामान्य प्रशासन मन्त्रालयको सूचना अधिकृत छन् ।
बैदेशिक रोजगार बिभागमा अवसर पाएर कुस्त कमाएर ओली प्रधानमन्त्री हुँदा २०७७ मा मलेसियाको श्रम सहचारी भएका
अर्का उपसचिव दिपक ढकाल कल्याण महाशाखा प्रमुख छन् ।
लेखामा हुँदादेखि निजामती प्रशासनमा शक्तिको आडमा राम्रो ठाउँ पाउँदैआएका उपसचिव तुलसी भट्टराई सामान्य प्रशासन मन्त्रालयको सङ्गठन विकास शाखाका प्रमुख छन् । उनी यसअघि सामान्य प्रशासन मन्त्रालयको खरिद हेर्ने आन्तरिक शाखामा लामो समय काम गरी बढुवा भएका उपसचिव हुन् ।
आन्तरिक शाखामा लामो समय उनीसँगै काम गरेका रामचन्द्र अधिकारीलाई बैतडी सरुवा गरिएको छ भने त्यही शाखामा लामो समय कार्यरत भट्टराईलाई त्यहीँ अर्को शाखा प्रमुख बनाइएको छ ।
मन्त्री रावलले स्थानीय तहमा यी तीन उपसचिवलाई किन खटाउन सकिनन्, किन आफ्नै वरिपरि राखिन् भन्ने प्रश्न कर्मचारीबृत्तमै उठेको छ । जेनजी आन्दोलनअगाडि शक्तिशाली यी तीन उपसचिव जेनजीको जगमा स्थापित बालेन्द्र शाह ‘बालेन्द्र’ नेतृत्वको सरकारमा पनि उत्तिकै हावी देखिएका छन् ।
सामान्य प्रशासन मन्त्रालयका एक अधिकारी भन्छन्–‘उनीहरुको ट्रयाक रेकर्ड मन्त्री रावलले मागेर हेर्ने हो भने स्थानीय तहमा खटाइएका उपसचिवहरु भन्दा उनीहरुले बढी अवसर लिएको देखिनेछ ।’