Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ह्वाइट हाउसको चर्काचर्कीपछि यूके पुगेका जेलेन्स्कीले भने– ट्रम्पसँग बन्द कोठामा छलफल गर्न तयार छु

ह्वाइट हाउसको चर्काचर्कीपछि यूके पुगेका जेलेन्स्कीले भने– ट्रम्पसँग बन्द कोठामा छलफल गर्न तयार छु

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विग्रिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

आइतबार युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन्।

शुक्रबार ट्रम्प र जेलेन्स्कीबीच राष्ट्रपति स्तरमा सौहार्दपूर्ण वातावरणमा छलफल भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हस्तक्षेप गर्दा माहोल गर्मिएको थियो।

भान्स सिनेटर हुँदैदेखि जेलेन्स्कीका विरोधी हुन्। अमेरिकाको ह्वाइट हाउसमा झगडा परेपछि सिधै बेलायत पुगेका जेलेन्स्कीले ट्रम्पसँग फेरि वार्ता हुन सके सम्बन्ध सुधार गर्नेसक्ने दाबी गरेका हुन्।

उनले भने–‘मलाई लाग्छ हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ। तर त्यस्ता छलफलहरू खुला हुनुहुँदैन थियो ।’ अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले बताए।

उनले भने–‘सभ्य दुनियाँको नेताको हैसियतले रूसी राष्ट्रपति पुटिनलाई सहयोग गर्न चाहँदैनन् भन्ने विश्वास छ। त्यसो नभए पनि युक्रेन सबै परिणामका लागि तयार छ ।’

अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको बताएका उनले भने–‘हामीले हस्ताक्षर गर्न तयार भएरै सम्झौता गर्ने विषयमा सहमत भएका हौं। अझै पनि खनिज सम्झौतामा हस्ताक्षर गर्न युक्रेन तयार छ र मलाई लाग्छ अमेरिका पनि तयार छ ।’

त्यही सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस पुगेको बताएका उनले ओभल अफिसमा चर्काचर्कीसँगै सम्झौता हुन नसकेपछि आफू बाहिरिएको बताए । यद्यपि सम्झौताका लागि पुनः छलफल हुन सक्छ कि भनेर निकैबेर ह्वाइट हाउसबाहिर कुरेको उनले बताए ।

युक्रेनमा शान्ति, सुरक्षाका लागि यूकेका प्रधानमन्त्रीद्वारा चारबुँदे प्रस्ताव
यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले युक्रेन युद्ध अन्त्य गर्न र उक्त युद्धग्रस्त देशलाई रुसी अतिक्रमणबाट जोगाउने भन्दै चारबुँदे योजना घोषणा गरेका छन्।

उनले यूके, फ्रान्स र अन्य देशहरू पनि ूइच्छुकहरूको गठबन्धनूमा सहभागी हुने र युक्रेनको समर्थनमा अमेरिकालाई समेत सहभागी गराउन प्रयास गरिने बताएका छन्।

युरोपका १८ देशका नेताहरूका साथै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएको सम्मेलनमा उनले भने–‘हामी आज इतिहासको दोबाटोमा छौँ ।’

सम्मेलनपछि युक्रेनले बलियो साथ पाएको महसुस गरेको र लामो समयदेखि नदेखिएको उच्च स्तरको युरोपेली एकता देखिएको जेलेन्स्कीले बताए।

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच चर्काचर्की भएको दुई दिनपछि लन्डनमा यो सम्मेलन आयोजना भएको थियो।

‘साँच्चिकैको शान्ति र सुरक्षाको सुनिश्चितताका लागि युरोपमा हामी सबै मिलेर अमेरिकासँग पनि सहकार्यको आधार तयार गर्न काम गरिरहेका छौँ,’ सम्मेलनपछि जेलेन्स्कीले भने।

सम्मेलनपछि पत्रकार सम्मेलनमा यूकेका प्रधानमन्त्री स्टार्मरले चारबुँदे सहमति भएको बताए । जसमा युक्रेनमा सैन्य सहायताको आपूर्ति जारी राख्ने र रुसमाथि आर्थिक दबाव कायमै राख्ने, दिगो शान्ति कायम गर्दा युक्रेनको सार्वभौमसत्ता तथा सुरक्षा सुनिश्चित गर्ने र युक्रेनलाई सबै शान्ति वार्तामा उपस्थित गराउने, शान्ति सम्झौता भएको अवस्थामा भविष्यमा युक्रेनमाथि हुनसक्ने कुनै पनि आक्रमणलाई रोक्न उसको रक्षा क्षमता बढाउने र युक्रेनबारे सम्झौताको पक्ष लिन र त्यसपछि शान्तिको सुनिश्चितता गर्न ‘इच्छुकहरूको गठबन्धन’ विकास गर्ने रहेको छ ।

स्टार्मरले थप १.६ अर्ब पाउन्ड सहयोगको घोषणा पनि गरेका छन्। यूकेको निर्यातबाट आर्जित रकमबाट दिइने उक्त सहयोग युक्रेनले हवाई प्रतिरक्षा क्षेप्यास्त्र खरिदमा खर्च गर्ने छ।

यो सहयोग यसअघि घोषणा गरिएको २.२६ अर्ब पाउन्ड स्टर्लिङको ऋण सहमतिभन्दा फरक हो। यसअघि स्टार्मरले रोक्का गरिएका रुसी सम्पत्तिको नाफाबाट युक्रेनी सैन्य सामग्रीका उक्त ऋण दिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077