एजेन्सी । नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् ।
उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन् ।
विना योजना नौ महिना अन्तरिक्षमा बिताएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाएका थिए ।
क्यामरा जडित डल्फिनको एउटा समूहले उनीहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उनीहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन गएका थिए ।