एजेन्सी । लेबनानबाट केही रकेट प्रहार भएपछि इजरायलले हवाई आक्रमण गरेको छ । नोभेम्बरमा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हिंसात्मक घटना भएको हो ।
इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको इरान समर्थित हिजबुल्लाहको कमाण्ड सेन्टर तथा दर्जनौं रकेट प्रक्षेपण स्थलहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
पहिलो चरणको आक्रमणपछि राति दोस्रो चरणका आक्रमण पनि गरिएका थिए। इजरायली सेनाले ती आक्रमण कमाण्ड सेन्टर, पूर्वाधार साइट र हतियार भण्डारणस्थललाई लक्षित गरी गरिएको बताएको छ।
शनिबार लेबनानबाट गरिएको रकेट आक्रमण केही दिनअघि इजरायलले गाजा क्षेत्रमा हिजबुल्लाहका सहयोगी हमासविरुद्ध सैन्य कारबाही तीव्र बनाएपछि भएको हो।
इजरायली सेनाले उत्तरी इजरायलको मेटुला क्षेत्रमा तीनवटा रकेट अवरोध गरेको र कुनै हताहत नभएको बताएको छ।