एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन भएको छ ।
सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्ने र गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा इजरायलका हजारौं जनाताहरूले तेल अभिभमा प्रदर्शन गरेका हुन्।
नेतान्याहूले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारमाथि हटाउने निर्णय गरेर लडाइँ सुरू गर्ने अभिव्यक्ति दिएपछि इजरायलका जनताहरूले सडकमा टर्चलाइटसहित प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरूले उक्त प्रदर्शन लगातार ३ दिनसम्म गरेका छन् । शनिबार इजरायली नेताले सुरक्षा प्रमुखलाई बर्खास्त गरे पनि देश लोकतान्त्रिक रहने बताए।
तेल अभिभको हबिमा स्क्वायरमा, प्रदर्शनकारीहरूले नीलो र सेतो इजरायली झण्डा फहराउँदै गाजामा रहेका बाँकी इजरायली बन्दीहरूको रिहाइको माग गरेका थिए भने सम्झौताको लागि आह्वान गरे।
नेतान्याहूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोपलाई खारेज गरेका छन्, तर उनका आलोचकहरूले बारलाई हटाउन खोजेर इजरायलको लोकतन्त्रलाई आधार बनाउने संस्थाहरूलाई कमजोर बनाएको आरोप लगाएका छन्।