काठमाडौं । शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ भने थाइल्याण्डमा १० जनाको मृत्यु भएको छ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ ।
भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।
म्यानमारको सैनिक सरकारले कम्तीमा ६९४ जनाको मृत्यु भएको र १ हजार ६७० जना घाइते भएका पुष्टि गरेको छ ।
शुक्रबार बिहान म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यो म्यानमार र थाइल्याण्डमा पछिल्लो २०० वर्षयताकै ठूलो भूकम्प मानिएको छ। भीषण विनाशका कारण म्यानमारका ६ राज्यहरू र थाइल्याण्डभरि आपतकाल घोषणा गरिएको छ।
रेडक्रसले बिजुली आपूर्ति अवरुद्ध भएकाले माण्डले, सागाइङ र दक्षिणी शान राज्यसम्म पुग्न प्रयासरत स्वयंसेवी टोलीलाई समस्या भइरहेको जनाएको छ।
रेडक्रसले दिएको प्रारम्भिक जानकारीका आधारमा भूकम्पबाट ठूलो क्षति भएको बताएको छ। हाल उनीहरू मानवीय सहायता जुटाउनका लागि थप विवरण संकलन गरिरहेका छन्।
भूकम्प प्रभावित म्यानमार र थाइल्याण्डमा राहत तथा सहयोगका लागि रेडक्रसले डेढ लाख डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यो रकम भोजन, पानी, कम्बल, तिरपाल र हाइजिन किटजस्ता अत्यावश्यक सामग्रीमा खर्च गरिनेछ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार, शुक्रबार गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारमा थप १४ पटक परकम्प आएका छन्। तीमध्ये अधिकांश ५ म्याग्निच्युडभन्दा कम तीव्रताका थिए।
सबैभन्दा शक्तिशाली परकम्प ६.७ म्याग्निच्युडको थियो, जुन मुख्य भूकम्प गएको करिब १० मिनेटपछि आएको थियो।