काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार साँझ काठमाडौंका विभिन्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री लेखकले घाइतेहरूको उपचारको व्यवस्था सरकारले मिलाउने बताए । “मन्त्रिपरिषद्को बैठकले पनि तीनकुने घटनाका घाइतेहरूलाई सरकारले उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ, उनले भने, “अस्पतालले घाइतेको उपचार निःशुल्क गरेको वा नगरेकोबारे बुझ्न आएको छु ।”
उनले बिरामीका आफन्तले आफैँले खर्च गरिसकेको बिलको प्रमाणीकरण अस्पतालले गर्ने र त्यसको भुक्तानी सरकारले गर्ने पनि जानकारी दिए ।
पूर्वराजावादीले राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रर्दशनपछि भएको झडपमा दुईजनाको मृत्यु भएको थियो । हाल उपत्यकाका विभिन्न अस्पतालमा गरी पाँच घाइते उपचाररत छन् ।
त्यसैगरी मन्त्री लेखकले जनकपुरमा भएको आन्दोलनमा घाइते भएका संजय यादवको समेत स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।